२८ आश्विन २०८३, बुधबार

खर्च नहुने भो ३५ अर्ब

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramsharan Mahatकाठमाडौं, १९ जेठ । विकास खर्च हुन नसक्दा यो आर्थिक वर्षको अन्त्यमा कम्तीमा ३५ अर्ब रुपैयाँ सरकारी खातामा त्यत्तिकै थन्किने भएको छ । यसरी बचेको रकम अर्को वर्षका लागि सरकारी खातामा रहने भए पनि जुन कार्यक्रमका लागि तोकिएको हो त्यसैले भने निरन्तरता पाउँदैन ।

वैशाख मसान्तसम्ममा राष्ट्र बैंकको खातामा सरकारको ८३ अर्ब ८४ करोड रुपैयाँ जम्मा छ । यो खर्च नभई बसेको रकम हो । राजस्वको लक्ष्य र उठ्तीको अवस्था हेर्दा यस वर्ष कम्तीमा ६० अर्ब रुपैयाँ उठ्ने देखिन्छ । धेरै पुँजीगत खर्च नभए पनि अन्तिम २ महिनामा झन्डै १५ अर्ब रुपैयाँ वैदेशिक सहायता आउने स्थिति छ ।

अर्थ मन्त्रालय बजेट महाशाखाका अधिकारीहरूको अनुमानअनुसार २० अर्ब जतिकै वैदेशिक सहायता आयो भने बचत ५० अर्बसम्म पुग्ने छ । ‘३५ देखि ५० अर्बसम्म बच्छ कि भन्ने अनुमान छ,’ अर्थ स्रोतले भन्यो, ‘३५ अर्ब नै बच्यो भने पनि सम्भवतः हालसम्मकै बढी हुनुपर्छ ।’

यी दुई महिनामा सरकारसँग झन्डै १ खर्ब ६० अर्ब रुपैयाँ उपलब्ध हुने छ । यसमा स्थानीय निकायको खातामा रहने करिब १० अर्बलाई हटाइदिने हो भने पनि १ खर्ब ५० अर्ब रुपैयाँको स्रोत केन्द्र सरकारकै खातामा रहने छ । पछिल्ला महिनाको खर्च अवस्था हेर्दा मासिक करिब ३० अर्ब रुपैयाँ चालू खर्च हुने गरेको छ । जसअनुसार ६० अर्ब रुपैयाँ चालू खर्च हुनेछ ।

विगतको अनुभव हेर्दा पुँजीगत बजेटको ४० प्रतिशत रकम जेठ र असारमा खर्च हुन्छ । जसअनुसार करिब ३५ अर्ब रुपैयाँ पुँजीगत खर्च हुनेछ । ऋणको साँवाब्याजको ठूलो भुक्तानी जेठ-असारमा हुने हुँदा २० अर्ब जति यसमा जानेछ । ‘खर्च हेर्दा ३५ अर्ब रुपैयाँ सजिलै बच्ने देखिन्छ,’ पूर्वअर्थ सचिव रामेश्वर खनालले भने । जेठ र असारका लागि तोकिएको राजस्व लक्ष्यअनुसारकै ७३ अर्ब रुपैयाँ उठेमा बचत रकम ४५ अर्बसम्म पुग्न सक्ने छ । कान्तिपुर दैनिकबाट