२९ आश्विन २०८३, बिहिबार

भूकम्पपछि कस्ता कस्ता मानसिक समस्या देखिन्छन् ? : डा. सरोज ओझा मनोचिकित्सक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dr_saroj_ojha

केही दिनअघि गएको भूकम्पका कारण अहिले पनि मानिस डराइरहेका छन् । कम्पन नआउँदा पनि आएजस्तो लाग्ने, झस्किनेजस्ता समस्या अधिकांश मानिसमा देखापरेको छ । मानिसहरू भूकम्प जानुअघिको स्वाभाविक अवस्थामा फर्किन सकिरहेका छैनन् ।

कहिलेसम्म यस्तो हुन्छ ? अहिले धेरैले सोधिरहेको प्रश्न हो यो । अध्ययनले के भन्छ भने यस्तो ठूलो विपत्तिपछि डराएको मनलाई सम्हालिन वा पुरानै अवस्थामा आइपुग्न कम्तीमा एक साता लाग्छ । ठूलो प्राकृतिक विपत्तिपछि मानिसको मस्तिष्कमा डर पैदा हुनु स्वाभाविक हो । आँखैअगाडि घटेको भयानक दृश्य मानिसको मस्तिष्कमा गहिरोसँग बसेको हुन्छ । जस्तो कि, अमेरिकामा ट्विन टावरमाथि अलकायदाले हमला गरेको हप्तौँसम्म अमेरिकीहरू डराएका थिए । नेपालमा आएको अहिलेको भूकम्पले नेपालीहरूमा त्यस्तै डर पैदा गराएको छ । सुरुमै ठूलो झड्का र त्यसपछि पटक–पटक आइरहेका झड्काले मस्तिष्कमा नराम्रो प्रभाव पारिरहेको छ ।

मानिसको मनोविज्ञानलाई वेलावेलामा आइरहेका यस्ता झड्काले ‘फेरि ठूलै भूकम्प आउने पो हो कि, मरिने पो हो कि, पूरै परिवार सखाप हुने पो हो कि, सबै सम्पत्ति सोत्तर हुने पो हो कि भन्नेखालका त्रासले प्रभावित गरिरहेको हुन्छ । खाना नरुच्ने, हिँड्दा जमिन हल्लिएजस्तो हुने आदि गर्छ । यो मनोवैज्ञानिक त्रास हो । यो सामान्य मानवीय स्वभाव पनि हो । अर्थात्, मानिसको स्वाभाविक मनोविज्ञान यस्तै हुन्छ । एक्कासि आएका यस्ता विपत्तिले जोकोहीमा पनि यस्तो सोचाइ र मनोविज्ञान विकसित गराउँछ ।

यस्तो भयावह दृश्य वा घटना बेहोरेको व्यक्ति त्रासको मनोविज्ञानमा बाँचिरहेको हुन्छ । त्यस्ता मानिसलाई ठीक हुन केही समय लाग्न सक्छ । केही दिनपछि ठीक हुँदै जान्छ । यदि समय बित्दै जाँदा पनि ठीक भएन भने मनोचिकित्सकसँग परामर्श लिनुपर्छ । परामर्श गरेर अथवा सामान्य औषधि सेवन गरेर यस्ता समस्यालाई निर्मूल गर्न सकिन्छ ।

यो अवस्थामा हामीले धैर्य रहनुपर्छ, संयमित हुनुपर्छ । आपत्को अवस्था बिस्तारै ठीक हुँदै गएको छ भन्नेखालको सकारात्मक सोच राख्नुपर्छ । डर लागिरहने मानिसले आफूलाई व्यस्त राख्नुपर्छ । कोही–कोहीलाई असाध्यै गाह्रो भएमा मनोचिकित्सकसँग परामर्श लिने अथवा दुई/चार दिन औषधि सेवन गर्ने गर्नुपर्छ । तर, एक साता पर्खिनुचाहिँ पर्छ । एक सातापछि पनि मनोवैज्ञानिक प्रभाव आउँछन् । जस्तो कि, कसै–कसैको घर चर्केको हुन्छ, भत्केको हुन्छ । कसैले परिवारको सदस्य गुमाएको हुन्छ । कसैले आफन्त गुमाएको हुन्छ । यस्तो अवस्थामा मन डराउने, आत्तिने, निद्रा नलाग्ने, अरुचि हुने, भोक नलाग्ने आदि हुन सक्छ ।

किन डराउँछ मन ?

एडजस्टमेन्ट डिसअर्डर भएमा मन डराउँछ । आफ्नो घरमा जुन किसिमको वातावरण मानिसले पाएको थियो, त्यो भूकम्पपछि पाएन, आफ्नो घर ठीक छ, तर छिमेकीको छैन, अथवा मिल्ने साथी अथवा परिवारका सदस्यलाई आँखैअघि गुमाउनुपरेको छ भने त्यसपछिको नयाँ वातावरणमा आफूलाई एडजस्ट गर्न मानिसलाई गाह्रो हुन्छ ।

पोस्टम्याट्रिक स्ट्रेस डिसअर्डरका कारण पनि मन डराउँछ । जुन मानिसले भूकम्पलाई प्रत्यक्ष महसुस गर्‍यो, उसले भूकम्प सम्झिनेबित्तिकै आत्तिने र आफूलाई भूकम्पलगत्तैको जस्तो तनावपूर्ण अवस्थामा पुर्‍याउने गर्छ । अहिले धेरैमा देखिएको समस्या यही हो । फ्ल्यास ब्याकजस्तै मनमा फ्याट्ट भूकम्पको कुरा आउँछ अनि मस्तिष्कमा उथलपुथल मच्चिन्छ । यो सब सम्झिनेबित्तिकै मन झसंग हुन्छ । र, फेरि भूकम्प आयो कि भन्ने महसुस गर्छ । एन्जाइटी प्यानिक डिसअर्डर भएमा समेत मन डराउने गर्छ । भूकम्प जाँदाको क्षण सम्झनेबित्तिकै मुटुको धड्कन बढ्ने, के गरुँ कसो गरुँ हुने, पसिना आउने, संसारै सिद्धियो, सबै कुरा गुमाइयो भन्ने महसुस हुने, अब म बाँचेको के सार भन्दै जीवनप्रति नै वितृष्णा जाग्नेलगायत हुने गर्छ । यस्तो समस्याबाट ग्रस्त मानिसले कहिलेकाहीँ अप्रिय काम पनि गर्न सक्छ । भूकम्पपछि देखिने यस्ता समस्या मानसिक रोग होइन । यी मनोवैज्ञानिक समस्या हुन् । एक सातासम्ममा पनि यस्ता मनोवैज्ञानिक समस्या हल भएन भने मनोचिकित्सकसँग परामर्श लिनु उत्तम हुन्छ । मनोचिकित्सकले आत्मबल अर्थात् मनोविज्ञानलाई बलियो बनाउने उपाय सिकाउने गर्छन् । कहिलेकाहीँ थोरै औषधि सेवनले पनि ठीक हुन सक्छ । आत्मबल दह्रो बनाउन खाली बस्नु भएन । आफ्नो दैनिक कार्य सुचारु गर्नुपर्‍यो । शिक्षक भए पढाउनुपर्‍यो । गृहिणीले घरका काममा आफूलाई व्यस्त राख्नुपर्‍यो । एक्लै हुँदा डर लाग्छ भने समूहमा बस्नुपर्‍यो । अर्थात्, आफूलाई सकेसम्म व्यस्त बनाउनुपर्‍यो । यसो गरेमा मनोविज्ञान पूर्वअवस्थामा क्रमश: फर्किंदै जान्छ ।

पुरानै कुरा सोचेर त्यसमै अल्झिरहने हो भने समस्या अझ जटिल बन्दै जान्छ । भयावह दृश्य नदेखाएको राम्रो अहिले मिडियाले भूकम्पका कारण पारेका क्षतिसम्बन्धी दर्दनाक दृश्य प्राथमिकताका साथ प्रकाशन/प्रसारण भइरहेको छ । यसले भर्खरै त्यो त्रासद घटनाबाट बचेको व्यक्तिमा थप डर उत्पन्न गराउने गर्छ । मृतक, घाइते वा खण्डहरको वीभत्स दृश्यलाई सकेसम्म नदेखाउने, देखाउनै परे ब्लर गरेर देखाउने गर्नु राम्रो हुन्छ । सकारात्मक खबर प्रवाह गर्नुपर्छ । नकारात्मक र डरलाग्दा दृश्यले मात्रै स्थान पाइरह्यो भने आलो घाउमा नुन छर्केजस्तो हुन्छ । कमजोर मन भएकाहरूलाई यस्ता दृश्यले थप समस्या पार्छ । नयाँपत्रिकाबाट