२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । बुधबार साँझ बालुवाटार सत्ता गठबन्धनको बैठक बसेको छ ।

गठबन्धका शीर्ष नेताहरुको सहभागीता रहेको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम, मन्त्रिमण्डल विस्तार लगायतका विषयमा छलफल भएको छ ।

बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

यसैबीच, बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन साथै समसामायिक राजनीतिक विषयवस्तुमा छलफल भएको बताइएको छ ।

हेरौँ बुधबार दिनभरका मुख्य -मुख्य समाचारका हेडलाइनहरु–

१. सत्ता गठबन्धनको बैठक : बुधबार साँझ बालुवाटारमा सत्ता गठबन्धनको बैठक, सरकारको न्यूनतम साझा कार्यक्रम, २६ गते प्रधानमन्त्रीले लिने विश्वासको मत, मन्त्रिमण्डल विस्तार लगायतका विषयमा छलफल ।

२. राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेट : राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शीतल निवासमा भेटवार्ता, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन साथै समसामायिक राजनीतिक विषयवस्तुमा छलफल ।

३. प्रचण्डले मागे विश्वासको मत : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता, सरकारमा सहभागी हुन र आफूलाई विश्वासको मत दिन अध्यक्ष नेपाललाई प्रधानमन्त्री प्रचण्डको आग्रह ।

४. चोखिने प्रयास : पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन छोडेर जानुमा नेपाली काँग्रेस दोषी नभएको काँग्रेस प्रवक्ता प्रकाशशरण महतको दाबी, प्रचण्ड र माधव नेपालले धोका दिएको आरोप ।

५. गृहमन्त्रालयको निर्देशन : अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गराउन ७७ वटै जिल्ला प्रशासन कार्यालाई गृहमन्त्रालयको परिपत्र, अवैध उत्खनन तथा दोहनलाई नियमन गर्न वातावरण संरक्षण ऐन २०७६ को पालना गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन ।

६. दोधारे मन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिनुअघि नै सरकारमा सहभागी हुने वा नहुने निर्णय गर्ने नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको भनाई, सरकारको नीति तथा कार्यक्रम नै स्पष्ट नरहेकाले प्रचण्डको अनुहार हेरेर मात्रै समर्थन गर्न नसकिने जिकिर ।

७. सरकार गठनका लागि आह्वान : सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीद्वारा नयाँ सरकार गठनका लागि आह्वान, पुस २७ गते साँझ ५ बजेसम्म दाबी पेश गर्नुपर्ने ।

८. संसदीय दलको नेतामा शाह : नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह चयन, बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहित ७ जना पछाडि हटेपछि शाहलाई हाइसन्चो ।

९. मिति हेरफेर : २२ गतेका लागि तोकिएको नेपाली काँग्रेसको केन्द्र समिति बैठक २८ गतेलाई सर्‍यो, २३ गतेका लागि संसदीय दलको बैठक आह्वान ।

१०. मार्गदर्शन संशोधन : नेपाल राष्ट्र बैंकद्वारा चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन, मार्गदर्शन कार्यान्वयनमा सहजीकरण होस् भनेर संशोधन गरिएको राष्ट्र बैंकको भनाइ ।

११. निर्मलाले पाउलिन् न्याय ? : निर्मला पन्त हत्याबारे छानबिन गर्न गठित डीआईजी दुर्गा सिंह नेतृत्वको अनुसन्धान टोलीले कञ्चनपुर पुगेर सुरु गर्‍यो अनुसन्धान, अनुसन्धान टोलीमा मनोचिकित्सक डा. राजेश दत्त पनि ।

१२. सिआईबीले थाल्यो अनुसन्धान : गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि काठमाडौंमा जारी नेपाल टी–ट्वेन्टी लिगमा फिक्सिङ भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थाल्यो अनुसन्धान, केही नेपाली खेलाडीसमेत शंकाको घेरमा ।
।
१३. वर्षकै महँगो सुन : बुधबार नेपाली बजारमा सुनको मूल्य यो वर्षकै महँगो, छापावाल सुन प्रतितोला १ लाख दुई हजार ९ सय, तेजाबी सुन प्रतितोला एक लाख दुई हजार ४०० र चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार ।

१४. निर्वाचन घोषणा : संकटग्रस्त श्रीलंकामा नयाँ निर्वाचन घोषणा, आगामी फेव्रुअरीमा निर्वाचन हुने ।

१५. संकटा फाइनलमा : संकटा क्लब पोखरामा जारी पोखरा आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश, साविक विजेता एपीएफ ४–१ गोल अन्तरले पराजित ।