३० आश्विन २०८३, शुक्रबार

झुम्कीलाई प्रियको मन रुवाउने कारुणिक प्रेमपत्र !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepak-oli

प्रिय झुम्की !

एकाबिहानै तैले पठाएको म्यासेज पाएँ । तल्लो घरको हुँदाखाँदाको भीरु, पल्लो गाउँकी कलकलाउँदी सुलीलाई निष्ठुरी भुइँचालोले छोडेन छ । त्यति मात्र कहाँ हो र ? सधै हाम्रो शान्तिसुरक्षामा अहोरात्र खटिने जलबिरे दाई, हामी सधै सँगै बसेर सुखोदुखो साटासाट गर्दै गोरुबाख्रा नियाल्ने पारी डाँडाको वरपीपलको चौतारो र परापूर्वकालदेखि पूजाआजा गर्ने दुर्गादेबीको मन्दिर पनि सदाका लागि ढलाएछ है ।

झुम्की, आज फेरि तेरो यादले खुब सताउँदैछ । पृथ्वी कापेको कापै छ । जताजतै बेहाल छ । मन बेचैन भएको छ । सपना पनि नराम्रो देख्छु । आँखा पनि खुब फुर्फुराउँछ । सवैतिर बेहाल छ । तँ खुब आत्तिएकी होलीस् हैं । म पनि तँ जस्तै आत्तिएको छु । यस्तो बेला तैले सुझबुझका साथ आफू र छिमेकी सुरक्षित हुने उपाय खोज्नु । त्यतिमात्र कहाँ हो र, काली गाईको गोठलाई पनि तत्कालै बाझो खेतमा सार्नु ।

झुम्की, हुन त हाम्रो गाउँका प्रायः घरहरु पनि लखतरान्न ढलेका छन् रे । खान लाउनको समस्या होला है । तैपनि आफू भन्दा पहिले बृद्धबृद्धा, बालबच्चा, अशक्त, बिरामी, गर्भवती, सुत्केरीलाई प्राथमिकता दिनु । के गर्नु ? यो प्राकृतिक प्रकोपले धनी, गरिब, ठूलो सानो केहि भन्दोरहेनछ । म पनि यता आफूलाई सुरक्षित राख्दै सकेजति र भ्याएसम्म उद्धार कार्यमा खटिएकै छु ।

Jhumki-1झुम्की, घामपानीबाट बच्न कसैले त्रिपाल दिएन् भनेर मन नदुखाउनु नि । त्रिपाल त हामीले चुनेर पठाएका जनप्रतिनिधी (सभासद) लाई पनि पुगेको छैन् रे । उनीहरु यतिखेर त्रिपालका लागि हारालुछ गदैछन् रे संविधानसभामा । तैले गाउँमै उपलब्ध निगालो, बाँस, नल, पराल, गाँजो, तीतेपाती, रामभास संकलन गरी त्यसैको छाप्रो बनाए बस्नु र अरुलाई पनि त्यसै भन्नु ल ।

अनि झुम्की, यो विपत्तिमा पनि हाम्रो मायाको घर सुरक्षित छ । तँ नडराउनु मैले यसलाई भूकम्प प्रतिरोधात्मक बनाएको छु । अँ, तैले भनेकी थिइस् नि जेठमा माथिल्लो घरकी काकीको विहे हुँदैछ घर आउनु । र, त्यहिबेला कूलदेवताको पूजा पनि गरौंला । ठूलो विपद्ले अहिले पूरै देश शोकमा डुबेको छ । देशै शोकमा भएको बेला विहे गर्नु र पूजाआजा गर्नु कदापी उचित हुँदैन् । यस्तो बेला सबैले हातेमालो गर्दै एकअर्काको घाँउमा मलहमपट्टी लगाउनुतिर लाग्नुपर्छ । देशको स्थिती सहज हुने वित्तिकै मजाले काफीको विहे र हाम्रो कूलदेवताको पूजाआजा गरौंला नि हुँदैन् र ?

तँलाई मेरो यादले खुब सताएको होला । मलाई पनि तेरो यादले खुब सताएको छ । तँ मेरो सुर्ताले तारम्तार फोन, म्यासेज गर्दैछस् । भो मेरो धेरै याद नगरेस् नि फेरि अर्को विपद् आइलाग्ला । देशै प्रसव पीडामा भएका बेला तैले मन दरो बनाएर आफू र छिमेकी सुरक्षित हुने उपायका साथ दुख लुकाएर बस्नु । जब हाम्रो देश प्रसव पीडाबाट छुट्कारा पाएर मुस्कुराउने छ । अनि तिम्रो दिले पनि प्यारी झुम्कीलाई मनभरि माया, आँखाभरि ठूलो सपनाका साथ भेट्नेछ । फेरि प्यारी झुम्कीलाई लाखौलाख मायाका साथ कुममाकुम मिलाएर उकालीओराली गर्नेछ । प्रतिक्षा गर, प्रतिक्षाको फल मीठो हुन्छ ।

हवस् त
उही, तिम्रो प्रिय ।