२९ आश्विन २०८३, बिहिबार

मानव तस्करीविरुद्धको संस्था कञ्चनजङ्घा उद्धार केन्द्रले मनायो स्थापना दिवस

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिलगढी (भारत), १८ पुस । मानव तस्करीविरुद्धको संस्था कञ्चनजङ्घा उद्धार केन्द्रले आफ्नो १८औँ स्थापना दिवस मनाएको छ ।

हरित क्रान्तिको अवधारणालाई आधार बनाएर ३१ डिसेम्बर २०२२ अर्थात् पुस १६ गते सिलगढीको देवीडाङ्गामा विशेष कार्यक्रम गरेर संस्थाले आफ्नो वार्षिकोत्सव मनाएको हो ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन रुखको विरुवामा पानी हालेर समग्र विश्वमा हरियालीका साथ स्वच्छ वातावरणको मङ्गल कामना गर्दै गरिएको थियो ।

सिलगढी महकुमा परिषद्का सभाधिपति अरुण घोषको मुख्य आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा मानव तस्करीविरुद्धको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रहरीहरू र सामाजिक कार्यकर्ताहरू तथा कञ्चनजङ्घा उद्धार केन्द्रका सदस्यहरूलाई सम्बर्द्धना जनाइएको थियो । सम्बर्द्धनानाको क्रममा विशेष रूपमा दार्जिलिङ जिल्लाका पब्लिक प्रोसिक्यूटर प्रणय राई र खरसाङ सेसन अदालतका पब्लिक प्रोसिक्यूटर रमेश अग्रवाललाई सम्बर्द्धना जनाइएको बताइएको छ ।

दार्जिलिङ जिल्लाका पब्लिक प्रोसिक्यूटर प्रणय राई दार्जिलिङका पूर्वविधायक हुन् । उनको सक्रियतामा करिब १२९ जना बाल शोषण–उत्पीडन, महिलाविरुद्ध हिंसाका दोषीहरूलाई अदालतबाट कारावासको सजाय भएको छ भने दुई जनालाई फाँसीको सजाय सुनाइएको छ ।

यस्तै, खरसाङ सेसन अदालतका पब्लिक प्रोसिक्यूटर रमेश अग्रवाल सामाजिक कार्यकर्ता हुन्, उनको सक्रियतामा एक दर्जन भन्दा बढी उस्तै दोषीहरूलाई अदालतले कारावासको सजाय सुनाएको छ ।

कञ्चनजङ्घा उद्धार केन्द्रकी संस्थापक रङ्गु सौरियाले आफ्नो वक्तव्यको क्रममा संस्थाको स्थापना साथै मानव तस्करीविरुद्धको अभियानमा सामना गर्नुपरेको संघर्षहरूका बारेमा जानकारी दिइन् ।

रङ्गु सौरियाले आफू स्वयम् रेड लाइट एरियामा गएर सयौं चेलीहरूलाई उद्धार गरेर समाजको मूल स्रोतमा ल्याउने कार्य गरेकी छि । उनकै सक्रियतामा कञ्चनजङ्घा उद्धार केन्द्रले सन् २००४ देखि आजसम्ममा आठ हजार भन्दा बढी छोरीचेलीहरूलाई उद्धार गर्न सफल भएको छ ।

कतिलाई रेड लाइट एरियाबाट, कतिलाई बाटैदेखि मानव तस्करहरूको जालबाट, कतिलाई शोषण–अन्याय र यौन उत्पीडनबाट, कतिलाई घरेलु हिंसाबाट उद्धार गरिएको उनले बताएकी छिन् । मानव तस्करहरूको जालमा फसेका धेरै नेपालका छोरीचेलीहरूलाई पनि उद्धार गरेर घर फिर्ता गर्न सफल भएको उनको भनाइ छ ।

स्मरणीय छ, रङ्गु सौरिया पश्चिम बङ्गाल राज्य सरकारबाट बङ्गरत्न पुरस्कारले सम्मानित भइसकेकी अभियन्ता हुन्् भने ‘हन्ड्रेड पावरफु वुमेन अफ् इण्डिया’ घोषित पनि भइसकेकी छिन् ।

स्थापना दिवसको कार्यक्रममा कञ्चनजङ्घा उद्धार केन्द्रका युथ ग्रुपकी सदस्य ऋतु थापाले मानव तस्करीविरुद्ध जनचेतनामूलक वक्तव्य प्रस्तुत गरिन् । कार्यक्रममा दिया सुनारले नेपाली गीत गएपछि नक्सलबारी हिन्दी हाई स्कूलद्वारा एसिड हमलाबारे अनि कञ्चनजङ्घा उद्धार केन्द्रको पानीघट्टा युथ ग्रुपद्वारा मानव तस्करीविरुद्ध गीति नाटक प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा संस्थापक प्रभात पाठकले धन्यवाद मन्तव्यको क्रममा संस्थाको बारेमा विशेष जानकारी दिए । १८ वर्षको अवधिमा कञ्चनजङ्घा उद्धार केन्द्र केवल संस्था मात्र रहेको छैन, मानव तस्करी, माहिला अनि बाल शोषण र उत्पीडन, सामाजिक असमानता, विसङ्गतिहहरू एउटा अभियान बनेर निरन्तर अघि बढिरहेको छ । पीडितहरूलाई पुन: नयाँ ऊर्जा दिनका साथै आत्मनिर्भर बनाउने उद्देश्यले संस्थाले विशाल होम निर्माण गरिसकेको छ ।

भारत सरकारको महिला अनि बाल विकास मन्त्रालयको परियोजना चाइल्डलाइन कञ्चनजङ्घा उद्धार केन्द्रले खरसाङमा अनि पश्चिम बङ्गाल राज्य सरकारको परियोजना स्कीम फर एडोल्सेन्ट गर्ल्स (एसएजी– कन्याश्री) परियोजना खरसाङ, सुकेपोखरी, मिरिक अनि फाँसीदेवामा सञ्चालन गरिरहेको छ ।

कार्यक्रममा विशिष्ट अतिथिहरूमा भारत सरकारका आयकर विभागका आयुक्त (पश्चिम बङ्गाल) मिलन रुचाल, दार्जिलिङ जिल्लका आरटीओ सोनाम छिरिङ, आयकर विभागका उप–आयुक्त पीटी योल्मो, डा. सीपी शर्मा, बाल कल्याण समिति, दार्जिलिङ र सिलगढीका अध्यक्षद्वय तृष्णा थापा र बसन्ती ब्यानर्जी, प्रहरी अधिकारीहरू, सामाजिक कार्यकर्ताहरू थिए ।

संस्थाले सन् २००४ देखि सिलगढीबाट समग्र उत्तर बङ्गाल, सिक्किम भेकमा मानव तस्करीविरुद्ध निरन्तर अभियान चलाउँदै आएको छ ।