१ कार्तिक २०८३, शनिबार

दिनभरका TOP 15 NEWS

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेकी छिन् । २५ गते दिउँसो १ बजेका लागि संसद बैठक डाकिएको हो ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन् ।

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँगको भेटमा प्रचण्डले अर्थतन्त्रको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् ।

हेरौँ मंगलबार दिनभरका समाचारका मुख्य मुख्य हेडलाइनहरु–

१. संसद अधिवेशन आह्वान : राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसद् अधिवेशन आह्वान, पुस २५ गते दिउँसो १ बजे संसद बैठक बस्दै ।

२. अर्थतन्त्र पुनरुत्थान प्राथमिकतामा : अर्थतन्त्रको पुनरुत्थान नै सरकारको पहिलो प्राथमिकता भएको नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाई, अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई सम्मान गर्ने प्रष्टोक्ति ।

३. गृहमन्त्री रविको एक्सन : निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन, विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन मन्त्रालय सक्रिय ।

४. गृहमन्त्रीविरुद्वको रिटमा सुनुवाई हुँदै : नवनियुक्त गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको ‘सांसद बन्न अयोग्य’ सम्बन्धी रिटमा पुस २२ गते सुनुवाइ हुँदै, सुनुवाइमा अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा दुवैतर्फबाट बहस हुने ।

५. केन्द्रीय समिति बैठक आह्वान : सत्ता गुमेपछि नेपाली कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक, पुस २२ गते बस्ने बैठकमा निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने ।

६. सांसद गुरुङ निलम्बनमा : भ्रष्टाचार आरोप लागेका मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित, संसद बैठकमा सहभागी हुन नपाउने ।

७. जन्मको कागजात माग : क्रिकेटर सन्दीप लामिछानेविरुद्व बलात्कार आरोप लगाउने किशोरीको जन्म भएको वीरगञ्जस्थित नारायणी अस्पतालबाट कागजात मगाउन अदालतको आदेश, किशोरीको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई पनि बकपत्रका लागि डाकियो ।

८. आत्मालोचना गरे सहकार्य : आत्मालोचना गरे विप्लवसँग सहकार्य हुन सक्ने नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलाको भनाइ, नागरिकता बिवादबारे सर्वोच्च अदालतमा मुद्दा रहेकै अवस्थामा रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाउन उचित नभएको धारणा ।

९. भारतलाई थप बिजुली बेचिने : थप दुई आयोजनाको ४३ मेगावाट बराबरको बिजुली भारत निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई अनुमति, काबेली ‘बी–१’ को २४ दशमलव २५ मेगावाट र तल्लो मोदी आयोजनाको १९ दशमलव ४ मेगावाट बिजुली भारत निर्यात गरिने ।

१०. चेतनलाई न्याय दिन माग : बाजुरामा हत्या गरिएका विद्यार्थी नेता चेतन ऐडीको हत्यामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न एमालेसम्बद्ध विद्यार्थी सङ्गठनको माग, बुथ कब्जा गर्न नदिएको भन्दै हत्या गरिएका ऐडीलाई न्याय दिन आग्रह ।

११. निलम्बन सिफारिस : सुन व्यापारीसँग रकम असुलेको आरोपमा पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस, गृहमन्त्रालयबाट प्रस्ताव स्वीकृत हुन बाँकी ।

१२. शेयर बजारको स्वागत : नयाँ सरकार गठनसँगै शेयरबजारले दियो ग्रिन सिग्नल, मंगलबार नेप्से ५९ दशमलव ८७ अंकले बढेर एक हजार ९८३ दशमलव ९५ विन्दुमा पुग्यो, कारोबार रकम पनि बढ्यो ।

१३. बढेको बढ्यै सुनको मूल्य : नेपाली बजारमा मंगलबार पनि सूनको मूल्य २ सय रुपैयाँले बढ्यो, छापावाल सुन प्रतितोला १ लाख ७०० र तेजाबी सुन प्रतितोला एक लाख ५ सय रुपैयाँमा कारोबार, चाँदी सोमबारकै मूल्य १ हजार ३९० रुपैयाँ कायम ।

१४. हिमआँधी अपडेट : अमेरिकामा हिमआँधीमा परेर मृत्यु हुनेको संख्या ४९ पुग्यो, हिमआँधी, हावाहुरी र शून्यभन्दा कम तापक्रमका कारण १५ हजारभन्दा बढी अमेरिकी उडानहरू रद्द ।

१५. लगातार तेस्रो जित : नेपाल टी–ट्वेन्टी लिगमा लुम्बिनी अल स्टारको लगातार तेस्रो जित, पोखरा एभेन्जर्स ३ विकेटले पराजित ।