
काठमाडौं, १२ पुस । नेपालका कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान) का अध्यक्ष बामदेव गौतमले वर्तमान सत्ता गठबन्धनमा सहभागी हुन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई सुझाव दिएका छन् ।
मंगलबार समाजवादी पार्टी कार्यालय तीनकुनेमा नेपालसंग छलफल गर्दै नेता गौतमले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि अहिलेको सरकारमा सहभागी हुन अध्यक्ष नेपाललाई सुझाव दिएका हुन् ।
छलफलपछि गौतमले माओवादीले एमालेसंग मिलेर सरकार बनाएको अवस्थामा नेकपा समाजवादी सरकारमा सहभागी हुनुपर्ने र सहभागी हुन नसके गम्भीर भुल हुने जिकिर गरे ।
प्रचण्डले समाजवादीसंग सम्मानजनक छलफल नगरि एक्लै एमालेसंग मिल्न जानु आलोचनाको बिषय भएको गौतमको भनाई छ ।
उनले प्रचण्डले नेपाललाई बोलाएर सरकारमा लैजानुपर्ने जिकिर गरे । गौतमले नेपाल कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गराउनका लागि जस्तोसुकै त्याग गर्न पनि तयार हुने निष्कर्ष निकालिएको जानकारी दिए ।
छलफलका क्रममा अध्यक्ष नेपालले पछिल्लो घटनाक्रमका बिषयमा पार्टीमा छलफल भइरहेको र आवश्यक निष्कर्ष निकालिने बताएका थिए ।















प्रतिक्रिया