
भक्तपुर, पुस ११ गते । आइतबार पूर्वार्धसम्म सुनसानजस्तै रहेको नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवास उत्तरार्धमा भने थामिनसक्नु भीडको घेरामा पर्यो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका दलहरूबीच नयाँ प्रधानमन्त्रीका लागि सहमति जुट्न नसकेपछि अपराह्न एकाएक राजनीतिक सरगर्मी बालकोटतर्फ सरेको हो । यद्यपि त्यसअघि नै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताहरूबीच विभिन्न तहमा वार्ता भइरहेका थिए । राजनीतिक समीकरणको अङ्कगणित बालुवाटारमा घट्न थालेपछि त्यहाँ रहेका सञ्चारकर्मी हतार गर्दै बालकोट पुगेका थिए ।
त्यस्तै राजनीतिक दलका नेताहरू दिउँसो १ बजेपछि छलफलका लागि बालकोट आउने क्रम बढ्यो । करिब सय जना सञ्चारकर्मी, राजनीतिक दलका नेता र कार्यकर्ता तथा सर्वसाधारणको ठूलो भीडलाई व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।
सत्ता गठबन्धन दलको बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जारी बैठक छोडेर बाहिरिएको केही समयमै अरू दलका नेताहरू बालकोट पुग्न सुरु गरेका थिए । महासचिव देव गुरुङ बालकोटमै बसेर एमाले अध्यक्ष ओलीसँग छलफल गरिरहेका थिए भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायतका नेता बालकोट पुगेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १ बजेपछि बालकोट पुगेका थिए । अन्तिममा जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ पनि बालकोट पुगे ।
अन्ततः करिब चार घण्टाको त्यही भेला र बैठकले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुलुकको ४४औँ प्रधानमन्त्री तय गर्ने सहमति गर्यो ।
सहमतिपछि दलका नेताहरू सोझै राष्ट्रपति कार्यालय शीतल निवास गएका थिए । शीतल निवास जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली निवासको बार्दलीमा निस्किएर उपस्थित जनसमूहलाई अभिवादन गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले निर्वाचनबाट नेपाली कांग्रेस पहिलो शक्ति बने पनि सरकार गठनमा पहलकदमीको भूमिका निर्वाह गर्न नसकेपछि दोस्रो ठूलो दल एमालेले राजनीतिक निकासको नेतृत्व लिनुपरेको बताए । सहमतिबारे जानकारी दिँदै उनले पहिलो दलले नेतृत्व लिन नसकेपछि एमालेले पहलकदमी लिने नैतिक बाध्यता आइलागेको र त्यसको नेतृत्व लिएको आजको गोरखापत्र दैनिकमा खबर छ ।













प्रतिक्रिया