२९ आश्विन २०८३, बिहिबार

माओवादीले गठबन्धन तोडे सम्हाल्न एमाले तयार

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । ठुलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि आन्तरिक तयारी गरिरहेका बेला सहयात्री अर्को दल माओवादी केन्द्र भने प्रधानमन्त्री पद नपाए वर्तमान सत्ता गठबन्धन तोड्न तयार देखिएको छ । नयाँ बन्ने सरकारको नेतृत्व पहिलो अढाइ वर्ष पुष्पकमल दाहालले गर्ने भनी निर्वाचनअघि नै मौखिक सहमति भएको र सहमति कार्यान्वयन गर्न कांग्रेसले आनाकानी गरे गठबन्धन टुट्ने संकेत माओवादी नेताले दिएका हुन् । ‘पहिलो प्राथमिकता गठबन्धनबाटै प्रधानमन्त्री हुने हो तर कांग्रेसले आनाकानी गरे विकल्प खोज्नुपर्ने बाध्यता हुनेछ,’ माओवादीका एक पदाधिकारीले भने । ती पदाधिकारीका अनुसार बिहीबार र शुक्रबार यसै विषयमा घनीभूत छलफल भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले बिहीबार साँझ नयाँ बन्ने सरकारको सुरुको आधा कार्यकाल आफूले नेतृत्व गर्न पाउनुपर्ने भन्दै कांग्रेस सभापति देउवालाई यसअघिको मौखिक सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए । तर शुक्रबारसम्म कांग्रेसले यसबारे माओवादीलाई कुनै जवाफ दिएको छैन । वर्तमान सत्ता गठबन्धनबाट माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले समेत आफूलाई सघाउने माओवादीको दाबी छ । तर कांग्रेसले राष्ट्रपतिसहित सुरुमा प्रधानमन्त्री बन्न पाउनुपर्ने दाबी छाडेको छैन ।

सरकार गठनका लागि गृहकार्य र संवाद भइरहेका बेला एमाले नेतृत्वले माओवादी सत्ता गठबन्धन तोडेर आए ऊसँग सहकार्य गरी सरकार गठन गर्न सकिने सन्देश दिएको छ । एमाले महासचिव शंकर पोखरेलले पनि शुक्रबार वामपन्थीहरू एकै ठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन् । सुर्खेतमा आयोजित एक कार्यक्रममा उनले वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने बताउँदै माओवादीले गठबन्धन तोडे आफूहरू छलफल गर्न तयार रहेको बताए । ‘अहिले मुलुकमा राजनीतिक अस्थिरता र अराजकता बढ्दै गएको छ । मुलुकलाई बलियो राष्ट्रिय शक्ति आवश्यक छ । वर्तमान सत्ता गठबन्धनको कुनै लक्ष्य छैन । त्यसैले वामपन्थीहरू एक ठाउँमा उभिनुपर्छ,’ पोखरेलले भने । एमाले र माओवादी मिलेर सरकार बनाउने चर्चा चलिरहेका बेला महासचिव पोखरेलले वामपन्थी एकजुट हुनुपर्ने धारणा राखेपछि राजनीतिक वृत्त झनै तरंगित बनेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिनिधिका रूपमा शुक्रबार बिहान कांग्रेस नेता प्रकाशमान सिंहले माओवादी अध्यक्ष दाहाललाई उनकै निवास खुमलटार पुगेर भेटेका छन् । सिंहले पहिलो आधा कार्यकाल देउवालाई प्रधानमन्त्री बनाए दोस्रो आधा कार्यकाल स्वतः दाहालको पालो आउने भन्दै फकाउने कोसिस गरेका थिए । उनले दाहाललाई सत्य तथा मेलमिलाप आयोगमा परेका उजुरी र द्वन्द्वपीडितहरूको समस्या देखाएर आयोगबाट पीडितहरूको मुद्दा टुंग्याउने र त्यसपछि प्रधानमन्त्री बनाउने भनी सत्ता समीकरणका लागि सहजीकरण गर्न खोजेका थिए । तर दाहाल आफ्नो अडान छाड्न तयार भएनन् । उनले यसअघिको मौखिक सहमति कार्यान्वयन गर्न आग्रह गर्दै अहिलेको अवस्थामा आफू प्रधानमन्त्री हुनबाट पछि हट्ने पक्षमा नरहेको जवाफ दिएका थिए । तर सिंहले कांग्रेस सबैभन्दा ठुलो पार्टी भएकाले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुँदा सकारात्मक सन्देश जाने भन्दै दाहाललाई सहमतिमा ल्याउने कोसिस गरेका थिए । यसअघि कांग्रेसका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर खड्काले पनि द्वन्द्वपीडितहरूको मुद्दा सुल्झाएपछि मात्रै दाहाललाई प्रधानमन्त्री बनाउन सकिने संकेत गरेका थिए । यसअघि दाहाल दुईपटक प्रधानमन्त्री भइसकेका छन् ।

एमालेले माओवादीलाई सत्ता गठबन्धन तोडेर आए केही समय पर्खिने जनाउ पनि दिएको छ । दाहालले पनि कांग्रेसलाई धेरै दिन कुर्न नसकिने बरु नयाँ चरणको राजनीतिक ‘कोर्स’ थाल्ने मनस्थिति बनाएको स्रोतको भनाइ छ । माओवादीका उपमहासचिव वर्षमान पुनले गठबन्धन दलबीच आफ्नै पार्टीले सुरुको कार्यकाल प्रधानमन्त्री पाउनुपर्ने प्रस्ताव राखिसकेको बताए । उनका अनुसार यस विषयमा गठबन्धनभित्र छलफल सुरु भइसके पनि कांग्रेसबाट जवाफ आउन बाँकी छ । ‘सुरुको प्रधानमन्त्रीमा हाम्रो दाबी हो । गठबन्धन दलको बैठकमा यस विषयले प्रवेश पाइसकेको छ,’ पुनले भने, ‘कांग्रेसबाट आधिकारिक जवाफ आउन बाँकी छ ।’

प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालबीच शुक्रबार साँझ पनि सरकार गठन विषयमा गम्भीर विचार विमर्श भएको थियो । स्वास्थ्य उपचारका लागि अस्पतालमा बसेका नेपाल चिकित्सकको अनुमतिले बिहीबार सांसद पदको शपथ ग्रहणमा सहभागी भएका थिए । उनी शुक्रबार पनि बालुवाटारको छलफलमा सहभागी भए । कांग्रेस–माओवादी दुवैलाई नेकपा एसका अध्यक्ष नेपालले मिलाउने र गठबन्धनकै सरकार बनाउने विषयमा छलफल भएको भनिए पनि देउवा–दाहालले आ–आफ्नै अडान नछाडेका कारण पाँच वर्ष कार्यकालको सुरुमा प्रधानमन्त्री को बन्ने भन्ने अन्योल कायमै छ ।

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव पुनलगायत नेताहरू कांग्रेसले धोका दिए वाम गठबन्धन बनाएर जानुपर्ने पक्षमा छन् । एमालेका नेताले पनि माओवादी गठबन्धन छाडेर आए सबै प्रकारका विकल्पमा छलफल गर्न तयार रहेको सन्देश प्रवाह गरिरहेका छन् । एमालेका नेताले माओवादीलाई प्रधानमन्त्री दिएर आफ्नो पार्टीले राष्ट्रपति र सभामुख लिएर पनि सहकार्य गर्ने सन्देश दिएका छन् । तर माओवादी अध्यक्ष दाहालले केही दिन कुर्न र कांग्रेससँगको सहकार्यलाई ध्यान दिन भन्दै एमालेलाई अल्मल्याएका छन् । ‘माओवादी अध्यक्ष दाहालले दुवैतिर कुरा अघि बढाएर एमालेलाई अल्मल्याउने कोसिस गरेका छन् । हामीले दाहाललाई चाँडै निर्णय गर्नुस् नत्र कांग्रेसको सरकारलाई निःसर्त समर्थन गर्न सक्ने बताएका छौं,’ एमालेका एक नेताले भने । एमाले नेताहरू सुवास नेम्वाङ, रघुवीर महासेठलगायतले दाहाललाई भेटेर एमालेको धारणा राखेका थिए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि राष्ट्रपतिले संघमा नयाँ सरकार गठनका लागि दिएको सात दिनको समय आइतबार सकिँदैछ । आजको नागरिक दैनिकमा खबर छ ।