– विश्वास खड्काथोकी
काठमाडौँ, ३१ बैशाख । यो दृश्य राजधानीस्थित गोंगबु, मित्रनगरको हो । जहाँ संग्लो घर भेट्न गाह्रो छ । गत बैशाख १२ गतेको भूकम्पले मित्रनगरलाई तहसनहस पा¥यो । मंगलवार पुनः आएको भूकम्पले थप क्षति पुर्यायो । बसपार्क वरपरका दर्जनौँ घरहरु ढलेका छन्, उभिएका पनि चर्किएका छन् । यतिसम्मकी बन्दै गरेका र निर्माणको अन्तिम चरणमा रहेका घरहरुसमेत काम नलाग्ने अवस्थामा छन् ।
गोंगबु सुनसान छ । पसल खुल्न सकेका छैनन् । होटलहरुका गेटमा ताल्चा लगाइएको छ । त्यही मित्र नगरमा एउटा कपडा पसल भने खुलै थियो । कपडा पसलकी सञ्चालक प्रतिभा कुवँरले भनिन्, ‘घरमा दिन कटाउन गाह्रो भएर आज मात्र आएको । पसलमा बसेपछि तरकारी खाने पैसा भए पनि होला ।’
मंगलबार गएको भूकम्पले मित्रपार्कको फेरि अर्को सग्लो घरलाई ढाल्यो । जहाँ मानवीय क्षति त भएन । तर, घरसँगै एक किराना पसल, मोबाइल, कस्मेटिक पसल र होटेल पनि घरसँगै गयो । जुन घरले दुई वटा व्यक्तिगत गाडी समेत ध्वस्त पा¥यो । कुवँर भन्छिन्, ‘गोंगबुमा नचर्किएका घर देख्न गाह्रो छ । कसैको घर बाँङ्गिएको छ, कति भासिएका छन्, प्रायःको पिलरनै जीर्ण भएका छन् ।’
निकै कमसल पिलरमा अग्ला–अग्ला घर ठडाइएको कारण भूकम्पले गोंगबुका घरहरुमा क्षति पुगेको गोंगबु उद्दारमा खटिएका शशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक बीरेन्द्र चन्दले बताए । उनले भने, ‘घर बनाउनै नमिल्ने रड हालेर घर बनाइएको छ ।’ भूकम्पपछि गोंगबु क्षेत्र सुनसान प्रायः बनेको छ ।





















प्रतिक्रिया