१ कार्तिक २०८३, आइतबार

अन्तत: हर्क साम्पाङमाथि कारबाही प्रक्रिया अघि बढाउन सिफारिस

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । अन्तत: धरान उप–महानगरपालिकाका प्रमुख हर्क साम्पाङमाथि कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरिएको छ ।

राष्ट्रिय दलित आयोगले साम्पाङलाई कारबाही गर्न माग गर्दै गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

दलित समुदायमाथि अपमान हुने गरी संविधान र कानूनविपरीत सामाजिक सञ्जालमा टिप्पणी गरिरहेको भन्दै आयोगले उनीमाथि कारबाही गर्न मन्त्रालयलाई सिफारिस गरेको हो ।

प्रमुख साम्पाङले सुरुमा ‘चमारे बुद्धि’ भन्दै सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा टिप्पणी गरेपछि आयोगले ध्यानाकर्षण भएको जनाउँदै अभिव्यक्ति सच्याउन र आत्मालोचना गर्न आग्रह गरेको थियो । तर, उनले त्यसो नगरी आयोगमाथि नै प्रश्न उठाउने खालका थप अभिव्यक्तिहरू धाराबाहिक रूपमा सार्वजनिक गर्दै आएका उनीमाथि अन्तत: कारबाही प्रक्रिया अघि बढाउन आयोगले मन्त्रालयलाई सिफारिस गरेको हो ।

‘धरान उप–महानगरपालिकाका प्रमुख राईले सामाजिक सञ्जाल फेसबुकमार्फत तराईको दलित समुदायमाथि अपमान गर्ने अभिव्यक्ति दिएकोमा त्यसमा आयोगले विज्ञप्तिमार्फत मेयर राईलाई सच्याउन आग्रह गर्दा पनि उनले बेवास्ता गर्दै अझ दलित समुदायलाई अर्ति उपदेश दिने र आफ्नो कमजोरीप्रति कुनै सम्बोधन नगरी संविधान र प्रचलित कानून भन्दा आफू माथि रहेको जस्तो अभिव्यक्ति पुन: सार्वजनिक गरेको हुँदा उनलाई कानून बमोजिम कारबाहीका लागि सिफारिस गरिएको छ,’ आयोगले गरेको सिफारिसमा उल्लेख छ ।

सामपाङको अभिव्यक्ति जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन, २०६८ को दफा ४ विपरीत रहेको मानिएको छ । कसुर ठहरिए उनीमाथि तीन वर्ष कैद र डेढ लाखसम्म जरिवाना हुनसक्ने अवस्था छ ।

उनको अभिव्यक्तिलाई लिएर चौतर्फी बिरोध समेत भइरहेको छ । यद्यपि, उनी आफ्नो हर्कतबाट पछि हट्ने मनस्थितिमा देखिदैनन् ।