१ कार्तिक २०८३, आइतबार

दिनभरका TOP 15 NEWS

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । मंसिर ४ गते सम्पन्न निर्वाचनको सम्पूर्ण परिणाम आइसकेको र राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतबाट सरकार गठनका लागि आह्वान गर्ने पक्कापक्कीपछि दलहरूले नयाँ सरकार गठनको छलफल र भेटघाटलाई तीव्र पारेका छन् ।

खासगरी दलहरूले संसदीय दलको नेता चयन नगरेको अवस्थामा भावी प्रधामनन्त्रीको उम्मेदवार टुंगो लागिसकेको छैन । यद्यपि, नेताहरूले प्रधानमन्त्रीको स्वघोषित उम्मेदवारको रुपमा सक्रियता बढाइरहेका छन् ।

अहिले नेपाली कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल, गगन थापा, प्रकाशमान सिंह र शेखर कोइराला प्रधानमन्त्रीको उम्मेदवार बन्ने दौडमा देखिन्छन् । यस्तै माओवादीबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने तीव्र रफ्तारमा छन् ।

कांग्रेसमा संसदीय दलको नेता को हुने भन्ने बहस चलिरहेको भए पनि अन्य दलमा त्यस्तो समस्या छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह जनसरोकारको आधारस्तम्भ भएको बताउँदै प्रभावकारी काम गर्न निर्देशन दिएका छन् । ललितपुर उप–महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले काठमाडौं उपत्यकामा जतिसक्दो चाँडो मेट्रो रेल ल्याउनुपर्ने बताएका छन् ।

हेरौँ शनिबार दिनभरका मुख्य–मुख्य हेडलाइनहरू–

१. दलहरू शक्ति बाँडफाँटमा केन्द्रित : निर्वाचन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सात वटै प्रदेशका प्रमुखहरूलाई परिणामसहितको निर्वाचन प्रतिवेदन बुझाएसँगै दुवै तहमा सरकार गठनको बाटो खुल्यो, दलका नेताहरूले तीव्र पारे भेटघाट र छलफल ।

२. स्थानीय तह जनसेवाको आधारस्तम्भ : संविधानले स्थानीय तहलाई विकास–निर्माण र जनसेवाको आधारस्तम्भको रुपमा जिम्मेवारी दिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, जनमुखी, पारदर्शी र परिणाममुखी काम गर्न निर्देशन ।

३. महङ्गियो राजनीतिक बजार : चुनावको परिणामले राजनीतिक बजारलाई महङ्गो बनाउँदै अस्थिरता उत्पन्न गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, सङ्ख्या पुर्‍याउन गठबन्धनलाई झन् ठूलो बनाउन खोजिएको टिप्पणी ।

४. म बन्छु प्रधानमन्त्री : आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगे, गठबन्धनमा छलफल गरेर मात्रै अघि बढ्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ ।

५. भारतको छायाँमा नेपालको कार्यपालिका : न्यायालयभित्रबाट भारतले नेपालको राष्ट्रपति बनाउन खोजेको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंको भनाई, भारतको छायाँमा मुलुकको कार्यपालिका र न्यायपालिका जकडिएकाले प्रतिवाद गर्नुपर्नेमा जोड ।

६. हामी प्रतिपक्ष : जनताको बीचबाट राम्रो मत पाए पनि एमाले जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्ने उपाध्यक्ष विष्णु पौडेलको स्पष्टोक्ति, राम्रो जनमत पाए पनि सरकारको नेतृत्व गर्ने जनादेश नभएको भनाइ ।

७. अस्थिरता र अराजकता बढ्ने चिन्ता : राजनीतिक अस्थिरतासँगै सामाजिक अराजकता र सांस्कृतिक विचलन आउनसक्ने एमाले महासचिव शंकर पोखरेलको टिप्पणी, राजनीति नै गलत दिशातर्फ अघि बढेकाले समाजका हरेक इकाई र अङ्गहरू सचेत रहनुपर्नेमा जोड ।

८. चुनाव नसकिदै मध्यावधिको परिकल्पना : वर्तमान सत्ता गठबन्धनलाई सरकार बनाउने जनादेश नभएको नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको भनाइ, ठूला दलहरू गम्भीर नभए देश मध्यावधि निर्वाचनतिर जानसक्ने चेतावनी ।

९. संसदमा प्रभावकारी भूमिका होस् : प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले गरे पार्टीका तर्फबाट निर्वाचित सांसदहरुसँग छलफल, बधाई तथा शुभकामना दिँदै संसदमा प्रभावकारी भूमिका खेल्न निर्देशन ।

१०. मेट्रो रेलको आवश्यकता : काठमाडौं उपत्यकाको जनघनत्व बढ्दै गएकाले अब मेट्रो रेलको विकल्प नभएको ललितपुर उपमहानगरपालिका प्रमुख चिरीबाबु महर्जनको भनाइ, न्यूनतम ३० लाख जनसंख्या भएको ठाउँमा मेट्रो चलाउँदा नाफा नभए पनि घाटामा नहुने जिकिर ।

११. हर्कलाई आफ्नै हर्कतले तनाव : दलितलाई होच्याउने धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङलाई ३ वर्ष कैद र डेढ लाखसम्म जरिवाना हुनसक्ने, चौतर्फी बिरोध हुँदा पनि अझै सम्हालिएनन् साम्पाङ ।

१२. जमानत जफत : मंसिर ४ गतेको निर्वाचनमा मधेश प्रदेशका २६ राजनीतिक दलका ७ सय ८९ उम्मेदवारको धरौटी जफत, धरौटी जफत हुने उम्मेदवारमा ७२४ जना पुरुष, ६४ जना महिला र १ जना अन्य ।

१३. सामुदायिक विद्यालय उत्कृष्ट : रूपन्देहीका सामुदायिक विद्यालयहरू देशकै उत्कृष्ट बन्दै गएको नवनिर्वाचित सांसद विष्णु पौडेलको भनाइ, सामुदायिक विद्यालयहरूले शैक्षिक कार्यक्रमलाई उत्कृष्ट नमूना प्रस्तुत गरेको दाबी ।

१४. घट्यो इन्धनको मूल्य : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँले घटायो, हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत ।

१५. मोदी–पुटिन वार्ता : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता, पारस्परिक र विश्वव्यापी हितका विविध विषयका साथै युक्रेन युद्धबारेसमेत छलफल ।