
काठमाडौं, २ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
आज शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले देउवासँग भेटवार्ता गरेका हुन् । भेटमा नयाँ सरकार निर्माणलगायत शक्ति बाँडफाँटका विषयमा गम्भीर रूपले छलफल भएको बताइएको छ ।
विशेषगरी प्रचण्डले आजको छलफलमा भावी प्रधानमन्त्रीको विषयलाई केन्द्रित गरेर देउवासँग छलफल गरेका छन् । छलफलका क्रममा देउवाले ठूलो दलको हैयितबाट सरकारको नेतृत्व कांग्रेसले नै गर्ने बताएपछि प्रचण्ड केही झस्किएका थिए । प्रचण्डले पनि ‘मलाई प्रधानमन्त्री नबनाउने हो भने तपाइँलाई पनि गाह्रै पर्ला’ भनेर मुस्कानसहितको जवाफ फर्काएको बालुवाटार स्रोतको दाबी छ ।
यद्यपि, देउवाले गठबन्धनभित्र छलफल गरेर मात्रै सरकारको नेतृत्वबारे निर्णयमा पुग्न सकिने र दुई जनाबीचको छलफल अर्थपूर्ण नहुने बताएको स्रोतको भनाइ छ । ‘तपाइँ हाम्रो र गठबन्धनको कुरा छँदैछ, तथापि म अहिले यहाँ आउनुको कारणचाहिँ अबको प्रधानमन्त्रीमा मेरो पनि दाबी छ भन्ने नै हो’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
नेकपा माओवादी केन्द्रले सरकारको पहिलो कार्यकाल आफूहरूले पाउनुपर्ने दाबी गर्दै आइरहेको छ । संसद् विघटनपछि कांग्रेसले सरकारको नेतृत्व गरेकाले यसपटक आफूहरूले नेतृत्व पाउनुपर्ने माओवादीको तर्क छ ।
सोही अनुसार कांग्रेससँगको छलफल सकारात्मक रहेको भन्दै उनले सार्वजनिक मञ्चहरूमा आफू चाँडै प्रधानमन्त्री बन्न लागेको अभिव्यक्ति दिदै हिँडेका छन् ।















प्रतिक्रिया