१ कार्तिक २०८३, आइतबार

कमलाले माफी माग्दै भनिन्– गल्ती भयो होला, अब सचेत हुन्छु (गीत र टुक्काहरूसहित)

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । बाल गायिका कमला घिमिरेले आफ्नो पछिल्लो लाइभ दोहोरी गीत विवादास्पद र आलोचित बनेपछि माफी मागेकी छिन् ।

फेसबुकमार्फत उनले आफूलाई बहिनी र छोरी सम्झिएर माफी दिन आग्रह गरेकी हुन् । उनले ‘सोल्टी बजारमा…’ भाकामा गायक सुमन परियारसँग हालै गाएको लाइभ दोहोरी गीतमा प्रस्तुत गरेका केही टुक्काहरूलाई लिएर सामाजिक सञ्जालमा आलोचना सुरू भएपछि गल्ती भएको भए माफी दिन आग्रह गरेकी हुन् ।

प्रस्तुत गीत आफ्नै रचनामा गाएको स्पष्ट पार्दै उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘कुनै प्लान गरेर डलरकै लागि भनेर, सोचेर, सम्झेर, स्क्रिप्ट तयार पारेर र कसैलाई बर्बादै पार्ने गरी गाइएको गीत होइन ।’

गीत गाउने क्रममा प्रयोग भएका शब्द र टुक्काहरूले कुनै घटना र कसैको जीवनसँग मेल खाएको भए संयोगमात्रै हुने भन्दै उनले अगाडि लेखेकी छिन्, ‘यसबाट पर्न गएको असरप्रति हृदयबाटै माफी माग्छु । सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला । आइन्दा यस्तो गल्ती हुनेछैन । अब उपरान्त गीत गाउँदा एकदम ख्याल राख्नेछु । सधैं हजुरहरुकै प्रिय बन्न पाऊँ, गीत–संगीतमै रम्न पाऊँ, कहीँकतै बिराएछु भने सल्लाह सुझाव दिदै गर्नु है ।’

उनले गाएको गीत र गीतमा प्रस्तुत शब्द र टुक्काहरूले जबर्जस्ती करणीबारे हालैका दुई चर्चित घटना (पल–समीक्षा) र सन्दी लामिछाने) लाई व्यङ्ग्य गरिएको दाबी आलोचकहरूको छ । दोहोरीमा सुमन परियारले ‘के भयो गाला त रातो भाको छ, बैंशले मात्यो कि चिसो लाको छ ?’ भन्दै विशुद्ध प्रेमभावबाट गीत उठान गरेका छन् । सवालको जवाफ दिदै जाने क्रममा कमलाले प्रेमभावकै शैलीमा उमेर र १० लाख रुपैयाँको प्रसङ्ग उठाएकी छिन् । तर, गीतमा कसैको नाम र कुनै पनि घटनालाई मूर्त रूपले उल्लेख गरिएको देखिदैन ।

सवालको जवाफ दिदै कमलाले सुरूमै प्रस्तुत गरेको टुक्का यस्तो छ, ‘जो–जोलाई देखे नि न मन आँत्तिन्छ, धेरै घाम भएसी गाला तात्तिन्छ ।’ त्यसपछि सुमनले ‘किन हो कान्छुले झूटो बोलनी, सुमनलाई देखेर तात्यो होला नि !’ भनेका छन् ।

कमलाले जवाफमा ‘के गरी बस्यैछु यस्तो चालाले, सुमनलाई चिनेछ मेरो गालाले’ भनेकी छिन् । फेरि सुमनले जिस्काजिस्की गर्दै कमलालाई भनेका छन्, ‘ति गाला देखेसी कस्तो–कस्तो भो, मुस्ताङको स्याउजस्तो टोक्दिम जस्तो भो’ भन्दै सवाल प्रस्तुत गरेपछि कमलाले गीतमा भनेकी छिन्, ‘न कोहीलाई भेट्न भनी आकी छ, होस गर अठार कट्नै बाँकी छ ।’

यसपछिका थप सवाल–जवाफ यस्ता छन्–

सुमन : मन मिले अहिले नै नजिक सरम्ला, अठार कटेसी बिहे गरे गरम्ला ।

कमला : जानु है बेलुकी पानी पिएर, घुम्न जाऊँ तल्तिर १० लाख लिएर ।

सुमन : नानीको कुराले सातो गयो नि, दश लाखको माया त महँगो भयो नि ।

कमला : यस्तै हो छोडिदेऊ अब संसार, चल्न त परिगो कोही कोही अन्सार ।

सुमन : यो तालले मायामा कहाँ फस्छु म, द–दश लाख तिर्दिन एक्लै बस्छु म ।

कमला : ढिला भो अब त घर जानलाई, जाम हिँन होटल कफी खानलाई ।

सुमन : म फस्न चाहन्न होटल धाएर, यतै गफ गरम्ला पानी खाएर ।

कमला : भेट्नेछु फेरि नि अब आउने दिन, क्यामरा अन गर्छु पख एकैछिन ।

सुमन : चिया नि कफी नि उतै खान्छु है, पेट काट्ला जस्तो भो घर जान्छु ।

कमला : हेर त एकचोटि मेरो आँखामा, नदाजौं मायालाई दश–बीस लाखमा ।

प्रस्तुत गीतमा प्रसङ्गवश कमलाले आफूलाई जोगाउने मनशासयबाट ‘प्रेमी’लाई अप्ठ्यारोमा पार्ने कोशिस गरेको देखिन्छ, तर कसैको नाम र घटना उछालेको जस्तो देखिदैन । बरु गीतले समाजमा बढिरहेको विकृतिलाई उजागर गर्दै मायाप्रेमभित्र एक–आपसको अस्वाभाविक प्रस्ताव र लोभ–लालचमा फस्न नहुने चित्रण गरिएको छ ।

गीतको यो भाव पछिल्ला दुई चर्चित घटनासँग आंशिक रूपमा मेल खाएको अनुमानका साथ केही आलोचकले आलोचना गरेको पाइन्छ । अन्यथा गीतले प्रस्तुत गरेको सन्देश घटित घटनासँग मात्रै लक्षित छ भन्ने अवस्था देखिदैन ।

यद्यपि, त्यही टुक्काका कारण अहिले कमला चर्चा र विवादमा तानिएकी छिन् । उनको त्यो टुक्काले पीडितहरूलाई थप पीडा थपेको भन्दै आलोचना भएको हो । कमलाले डलरकै लागि कसैलाई ठेस पुग्नेगरी र बर्बादै पार्ने गरी योजनाबद्ध ढंगबाट गीत नगाइएको स्पष्ट पार्दै गीतबाट पर्न गएको असरप्रति हृदयबाटै माफी मागेकी छिन् । उनले आइन्दा गल्ती नहुनेगरी गाउने र गाउँदा सचेत हुने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।

गीतले सत्य उजागर गरेर समाजलाई सचेत गराएको भन्दै कतिपयले उनको प्रशंसा पनि गरिरहेका छन् ।