
काठमाडौं, २९ मंसिर । कतारमा जारी विश्वकप फुटबलको नेपालमा करोडौं रुपैयाँको सट्टेबाजी अर्थात् बेटिङ भइरहेको अनुमानसहित अनुसन्धान थालेको प्रहरीले लगातार सफलता हासिल गरेको छ ।
विश्वकप फुटबलमा करोडौं रुपैयाँको बेटिङ गराइरहेका लमजुङको सुन्दरबजार नगरपालिका कुन्छा घर भई काठमाडौंको टोखा बस्दै आएका २६ बर्षीय सुजन गौलीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो । कमिसनबापत २५ प्रतिशत रकम पाउने लोभमा अन्तर्राष्ट्रिय कम्पनी वन एक्स बेटको स्थानीय एजेन्ट भएर उनले काम गरेको प्रहरीले बताएको छ ।
प्रहरीको प्रारम्भिक अनुमानबाट गौलीले २ करोड ३६ लाख ३३ हजार एक सय ३८ रुपैयाँ कारोबार गरेको देखिएको छ भने ७ करोड ७२ लाख ८९ हजार ४६ रुपैयाँ कारोबार गरेको हुन सक्ने अनुमान गरिएको छ ।
यसअघि बेटिङ धन्दा गरिरहेका महोत्तरी घरभई ललितपुर बस्दै आएका मनोज ठाकुरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।















प्रतिक्रिया