
काठमाडौं, २८ मंसिर । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत सम्पूर्ण प्रक्रिया पूरा गरी निर्वाचन आयोगले अन्तिम निर्वाचन परिणाम प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ ।
परिणाम अनुसार प्रतिनिधिसभातर्फ ३३ र प्रदेश सभातर्फ ३६ प्रतिशत महिला निर्वाचित भएका छन् । यस्तै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ४ हजार २८५ जना अर्थात् कुल उम्मेदवारको ७६ दशमलव ०४ प्रतिशत उम्मेदवारको धरौटी रकम जफत भएको छ ।
निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । प्रावधानबमोजिम प्रतिनिधिसभातर्फ एक हजार ९६१ जना तथा प्रदेशसभातर्फ दुई हजार ३२४ जना गरी चार हजार २८५ जना उम्मेदवारको धरौटी रकम जफत भएको हो ।
सम्पूर्ण निर्वाचन परिणाम सार्वजनिक भएसँगै नयाँ सरकार गठनका लागि दलका नेताहरूमा थप सक्रियता बढेको छ । भावी सरकार गठनकै विषयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच र एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका महासचिव देव गुरुङबीच छुट्टाछुट्टै भेटवार्ता भएको छ । तेस्रो पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भावी सरकारको नेतृत्व आफूले गर्ने करिब पक्का भएको अभिव्यक्ति दिएका छन् ।
यस्तै विभिन्न हर्कत गरेर सामाजिक सञ्जालमा छाइरहने प्रतिनिधि सभामा नवनिर्वाचित सांसद रवि लामिछाने, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र धरान उप–महानगरपालिकाका प्रमुख हर्क सामपाङ विवादमा परेका छन् । लामिछाने ‘कीर्ते’ नागरिकता, साह जरिवाना रकम नतिरेको र सामपाङ दलितविरुद्धको अभिव्यक्तिका कारण विवादमा तानिएका हुन् ।
हेरौँ आजका प्रमुख समाचारका हेडलाइनहरू–
१. अन्तिम परिणाम सार्वजनिक : निर्वाचन आयोगले तयार पारेको अन्तिम निर्वाचन परिणाम प्रतिवेदन सार्वजनिक, प्रतिनिधिसभातर्फ ३३ र प्रदेश सभातर्फ ३६ प्रतिशत महिला निर्वाचित, प्रतिवेदन भोलि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइँदै ।
२. अध्यक्ष ओली र महसचिव गुरुङबीच भेट : नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरे भेट, बधाई साटासाटबाहेक राजनीतिक कुराकानी नभएको जिकिर ।
३. जनमतबिनै प्रधानमन्त्री बन्ने प्रचण्डको चाहना : कांग्रेसले सरकार गठनको म्यान्डेट पाए पनि आफू प्रधानमन्त्री बन्न लागेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी, भ्रष्टाचार नियन्त्रण र आर्थिक क्रान्तिको अभियान चलाउने उद्घोष ।
४. देउवालाई पौडेलको आग्रह : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई संसदीय दलको नेता बनाउन पार्टी सभापति शेरबहादुर देउवासँग गरे आग्रह, आफू संसदीय दलको नेता बने सबैले स्वीकार्ने र पार्टी बलियो हुने भनाइ ।
५. रविविरुद्ध रिट : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर, नागरिकता विवाद चलिरहेकाले सांसद पदको सपथ नगराउन आग्रह ।
६. बालेनको माग अस्वीकृत : स्थानीय तहको निर्वाचन खर्च पेश नगरेका कारण तोकिएको साढे ७ लाख रूपैयाँ जरिवाना मिनाहाको माग गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले दिए निर्वाचन आयोगमा निवेदन, जरिवाना मिनाहा गर्ने कानूनी व्यवस्था नभएको आयोगको भनाइ ।
७. पुन: मतगणनाको माग : पुन: मतगणनाको माग गर्दै धनुषा–४ बाट पराजित नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवद्वारा सर्वोच्च अदालतमा रिट दायर, मतगणनामा धाँदली गरेको आरोप ।
८. अखिल क्रान्तिकारीमा विवाद : माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले कलेज सम्बन्धनमा ‘बार्गेनिङ’ गरेको आरोप लागेपछि संगठनभित्र बढ्यो विवाद, सात उपाध्यक्षले प्रचण्डसँग गरे विशेष राष्ट्रिय सम्मेलनको माग ।
९. गौतमको राजीनामा माग्दा घिमिरेको आयो : संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमको राजीनामा माग भइरहँदा सचिव ध्रुवप्रसाद घिमिरेको आयो राजनीनामा, राजीनामा दिनुमा पारिवारिक कारण प्रमुख रहेको भनाइ ।
१०. सुनकोसी–३ निर्माणको बाटो खुल्यो : सुनकोसी–३ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत, ६८३ मेगावाट क्षमताको उच्च महत्वाकांक्षी जलविद्युत् आयोजना निर्माणको बाटो खुल्यो ।
११. हर्क सामपाङ परे गम्भीर विवादमा : फेसबुकमार्फत ‘बल होइन, बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति दिएपछि धरान उप–महानगरपालिकाका मेयर हर्क सामपाङ तानिए विवादमा, अभिव्यक्ति अन्तर्राष्ट्रिय मानवअधिकारको भावना र मर्म विपरीत भएकाले आत्मालोचना गर्न राष्ट्रिय दलित आयोगको अनुरोध ।
१२. सँगै अघि बढौँ, अर्थतन्त्र सुधारौँ : अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार र निजी क्षेत्र एकसाथ अघि बढ्नुपर्ने अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को भनाइ, निजी क्षेत्रप्रति सरकारले फरक दृष्टिकोण नराखी अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मानेको प्रष्टिकरण ।
१३. किसानद्वारा सरकारको विरोध : सरकारले तोकेको धानको सर्मथन मूल्यमा किसानको धान नकिनेको भन्दै एमाले र कांग्रेस निकट किसान संगठनद्वारा सरकारको विरोध, घोषणा र प्रतिबद्धताविपरीत धान खरिद नगर्नु सरकारको असक्षमताको पराकाष्ठ भएको भनाइ ।
१४. को बन्ला अर्जेन्टिनाको प्रतिस्पर्धी ? : कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत सेमिफाइनलको दोस्रो खेलमा आज फ्रान्स र मोरक्को भीड्दै, फाइनल खेल खेलेपछि फुटबलबाट सन्यास लिने अर्जेन्टीनी स्टार लियोनल मेस्सीको तयारी ।
१५. बाढी र पहिरोको वितण्डा : भारी वर्षाका कारण कङ्गोमा आएको बाढीपहिरोमा परी कम्तीमा एक सय जनाको मृत्यु, कैयौँ घाइते, खोज तथा उद्धार कार्य जारी ।















प्रतिक्रिया