२९ आश्विन २०८३, बिहिबार

खोटाङमा एकीकृत घुम्ती शिविर प्रभावकारी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, २६ मंसिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा आयोजित एकीकृत घुम्ती शिविरमा दुई सय ५३ सेवाग्राहीले सेवा लिएका छन् । नगरपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरमा एक सय ५७ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र, ७५ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र २१ जनालाई अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको हो ।

शिविरमा उपचारका लागि आएका जटिल किसिमका बिरामीलाई विभिन्न प्रकारका औषधि निःशुल्क वितरण गरिएको नगरपालिकाले जनाएको छ । पाथेकाका स्थानीय बासिन्दालाई लक्षित गरेर आयोजना गरिएको एकीकृत घुम्ती शिविरमा वडा नं ११ खार्मीका सेवाग्राहीले समेत सेवा लिएका छन् ।

नगरपालिकाले वडामै एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछि दुई वडाका सेवाग्राही लाभान्वित भएका छन् । अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले एकीकृत घुम्ती शिविरमार्फत आफ्नै गाउँ÷ठाउँमा सहजरुपले आवश्यक सेवा लिन पाएपछि लाभान्वित भएका हुन् । ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई उनीहरुकै गाउँ÷ठाउँमा सेवा उपलब्ध गराउने उद्देश्यले पाथेकामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए । “सङ्घीयताको मर्म भनेकै सिंह दरबारको अधिकार गाउँगाउँमा पुर्‍याएर नागरिकलाई सेवा उपलब्ध गराउने हो”, उनले भने, “नगरका सबै नागरिकलाई सहजरुपमा उनीहरुकै गाउँ/ठाउँमा सेवा उपलब्ध गराउन हरेक वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने योजना बनाएका छौँ ।”

पाथेकास्थित वडा कार्यालयको प्राङ्गणमा आइतबार आयोजना गरिएको एकीकृत घुम्ती शिविरमा नगरप्रमुख भट्टराई, पाथेकाका वडाध्यक्ष मुगाधन राई, कार्यपालिका सदस्य अञ्जना बस्नेत, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, स्वास्थ्य शाखा प्रमुख मोहन राउत, महिला तथा बालबालिका शाखा प्रमुख इरन राई, स्वास्थ्यकर्मी तथा विभिन्न शाखाका कर्मचारी सहभागी थिए । एकीकृत घुम्ती शिविर लगेर पाथेका पुगेका जनप्रतिनिधि तथा कर्मचारीलाई पाथेकाका स्थानीय बासिन्दाले फूलमालाले स्वागत गरेका थिए ।