
काठमाडौं, २५ मंसिर । यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार–२०७९’ पत्रकार दिपा दाहाललाई प्रदान गरिएको छ ।
नेपाल समाचार केन्द्रद्वारा सञ्चालित न्युजकारोबार डटकमको छैटौं वार्षिकोत्सवको अवसरमा आज सो पुरस्कार प्रदान गरिएको हो ।
केन्द्रकी अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्री र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवन भट्टले पुरस्कारसहित सम्मानपत्र हस्तान्तरण गरेका हुन् । पुरस्कारको राशि ३४ हजार रुपैयाँ छ ।
पुरस्कार ग्रहणपछि पत्रकार दाहालले नेपालको पहिलो आर्थिक दैनिकको सम्पादक विजयबाबुको सम्झना स्थापित पुरस्कारबाट सम्मानित हुन पाउँदा आफू गौरवान्वित भएको बताइन् ।
पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, नेपाल समाचार केन्द्र प्रालिका अध्यक्ष खत्री र न्युजकारोबार डटकमका प्रधान सम्पादक सन्तोष आचार्य सहितको समिति गठन भएको थियो । सोही समितिले पत्रकार दाहाललाई यस वर्षको विजयबाबु स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय गरेको हो ।
पत्रकारितामा सक्रिय रहँदारहँदै २०६८ साल मंसिर १२ गते रुपन्देहीको सालझन्डीमा भएको सडक दुर्घटनामा परी ३४ वर्षको उमेरमा विजयबाबु खत्रीको निधन भएको थियो । स्वर्गीय खत्रीको स्मृतिमा उनकी धर्मपत्नी लक्ष्मी श्रेष्ठ खत्रीले २०७५ मंसिर १२ गते अक्षय कोष स्थापना गरेकी हुन् । सोही अक्षय कोषमार्फत केन्द्रले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।
विजयबाबु पत्रकारिता पुरस्कार पहिलो वर्ष ध्रुवहरि अधिकारी, दोस्रो वर्ष स्वर्गीय गोकर्ण गौतम र गत वर्ष केशव पौडेललाई प्रदान गरिएको थियो । विजयबाबु खत्रीको स्मृति दिवसको अवसरमा मंसिर १२ गते सो पुरस्कार घोषणा गर्ने गरिएको छ ।















प्रतिक्रिया