१ कार्तिक २०८३, आइतबार

दिनभरका TOP 15 NEWS

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । शनिबार दिनभर दल र दलका नेताहरू आ–आफ्नो पार्टीले पाएको सीटका आधारमा बन्दसूचीमा रहेका समानुपातिक सांसदहरूको नामवलीलाई अन्तिम रुप दिन व्यस्त रहे ।

निर्वाचन आयोगले आज अपराह्न ४ बजेसम्म सूची बुझाउन गरेको परिपत्रअनुसार दलहरूले प्रतिनिधि सभा र प्रदेश सभामा पाएको समानुपातिक मतबाट प्राप्त सीटका लागि सांसदहरूको नाम बुझाएका छन् ।

हालै सम्पन्न निर्वाचनबाट प्राप्त परिणामले देशलाई स्थिरता र विकास दिन नसक्ने भन्दै नेताहरूले चिन्ता व्यक्त गरिहेका छन् । यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज निर्वाचन परिणामबाट मुलुक अस्थिरतातर्फ जाने अवस्था देखिएको बताउँदै मुलुकलाई सही बाटोमा ल्याउन एमालेले सही र महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

यस्तै, गठबन्धन गरेर पनि आफूहरूलाई कम भोट आएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मत कम आउनुको कारण खोजेर अगाडि बढ्ने बताएका छन् भने तीन प्रतिशत थ्रेसहोल्ड समेत कटाउन नसकेको नेकपा एसका अध्यक्ष पनि निर्वाचन परिणामबाट सन्तुष्ट छैनन् ।

यद्यपि, उनीहरूले वर्तमान गठबन्धन भने भत्काउन नहुनेमा जोड दिँदै आएका छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

१. दलहरूले बुझाए समानुपातिक सांसदको सूची : तीन प्रतिशत थ्रेसहोल्ड कटाएका कांग्रेस, एमाले र माओवादीसहित प्रतिनिधि सभाका ७ वटा र ७ वटै प्रदेशका विभिन्न दलहरूले निर्वाचन आयोगमा बुझाए समानुपातिक सांसदको नाम, कांग्रेसमा परिवारवाद, स्वतन्त्र र माओवादीमा देखियो असन्तुष्टि ।

२. श्रीमतीहरू बने सांसद : प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाणले पत्नी मञ्जु खाणलाई बनाए समानुपातिक सांसद, आदिवासी जनजातिको १ नम्बरका श्रेष्ठ आउट ।

३. मुलुक अस्थिरतातर्फ जाने खतरा : हालै सम्पन्न निर्वाचन परिणामबाट मुलुक अस्थिरतातर्फ जाने अवस्था देखिएको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ, मुलुकलाई सही बाटोमा ल्याउन एमालेले सही भूमिका निर्वाह गर्नुपर्नेमा जोड ।

४. एमालेबाट दर्जन नेताहरू निष्कासित : पार्टीविरुद्ध लाग्ने स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल र प्रभु साहसहित स्थायी कमिटी, केन्द्रीय कमिटी र केन्द्रीय निकायका एक दर्जन भन्दा बढी सदस्यहरूलाई एमालेले गर्‍यो कारबाही, जैनव खातुनको नाम समानुपातिकको सूचिबाट हटाइयो ।

५. आत्मरतीमा प्रचण्डको : निर्वाचनमा अपेक्षित परिणाम प्राप्त नहुनुको कारण खोजी गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, राष्ट्रिय राजनीतिमा आफू कमजोर नभएको टिप्पणी ।

६. बाबुरामले गरे बोलेको विरोध ! : काठमाडौं महानगरपालिकाले बल प्रयोग गरी गरिब तथा फुटपाथ व्यवसायीलाई लखेट्ने क्रम जारी राखे एकदिन विस्फोट हुने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको चेतावनी, फुटपाथ व्यवसायीको व्यवस्थापन र पुन:स्थापना गर्न मेयर बालेनलाई सुझाव ।

७. चुनाव जित्नु ठूलो होइन : चुनाव जित्नु भन्दा प्रतिबद्धता पूरा गर्नु मूख्य कुरा भएको नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको भनाइ, जनताका आवाज सुनेर सम्भव भएसम्म समस्यालाई सम्बोधन गर्न जनप्रतिनिधिलाई आग्रह ।

८. पहिरोले गाउँ नै जोखिममा : जमिन भासिँदै जान थालेपछि कालीकोटको ३२ घरधुरी रहेको मय गाउँ सुक्खा पहिरोको जोखिममा, सुरक्षित स्थानमा वस्ती सार्न माग ।

९. पेट्रोल ट्याङ्की बनाइँदै : पेट्रोल भण्डारणका लागि बाराको अमलेखगञ्जमा छुट्टै भण्डारण गृह निर्माण गर्ने नेपाल आयल निगमको तयारी, परियोजना सञ्चालनमा आएपछि रक्सौलको जाम हट्नाका साथै पेट्रोलियम पदार्थमा हुने चोरी र अनियमितता हट्ने विश्वास ।

१०. घरभित्रै झुण्डिए महत : नेपाली सेनाका पूर्व बलाधिकृत रथि बलदेवराज महतद्वारा आत्महत्या, बूढानीलकण्ठ–९ मण्डिखाटारस्थित आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा फेला ।

११. कवाडी विक्री गर्न निर्देशन : सिंहदरबारभित्रका पुराना सवारी साधन लिलाम बिक्री गर्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको परिपत्र, काम नलाग्ने र बिग्रिएका सवारी साधन बिक्री गर्न मातहतका निकायलाई निर्देशन ।

१२. गठबन्धन टुटाउन हुँदैन : वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म कायम हुनुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको धारणा, अपेक्षाअनुसार मत प्राप्त नगरे पनि गठबन्धन टुट्न नहुने भनाइ ।

१३. राजधानीमा राजनीति : लुम्बिनी प्रदेशको राजधानीका विषयमा अनावश्यक राजनीति नगर्न मुख्यमन्त्री कुलप्रसाद केसीको आग्रह, प्रदेश सभाको निर्णयलाई कार्यान्वयन गरेको विषयलाई विषयान्तर गर्न नहुने भनाइ ।

१४. अमेरिकामा फ्लूको प्रकोप : फ्लूका कारण संयुक्त राज्य अमेरिकामा ७ हजार ३०० जनाको मृत्यु, एक लाख २० हजार जना अस्पताल भर्ना ।
१५. नेपालीले जिते पहलमानको लडाइँ : रुपन्देहीमा भएको कुस्ती प्रतियोगितामा भारतीय पहलमान गब्बरलाई हराउँदै नेपाली पहलमान सन्नी थापा विजयी, २५ हजार रुपैयाँ पुरस्कार पाए ।