
काठमाडौं, २३ मंसिर । काठमाडौंको गोठाटारमा ५८ वर्षीय लाल मोहम्मद (मोहम्मद दर्जी) को हत्यासम्बन्धी घटनाको अनुसन्धानमा भारतीय इन्टेलिजेन्स ब्युरो (आइबी)ले चासो देखाएको छ । भारतीय नक्कली नोटको अनुसन्धान तथा आतंकवादी समूहहरूको अनुसन्धानमा क्रियाशील आइबीले मोहम्मद हत्या प्रकरणको अनुसन्धानमा पनि चासो देखाएको नेपाल प्रहरीको उच्च स्रोतले जनाएको छ ।
हत्याका मुख्य योजनाकार भारतका बब्लु पासवान रहेको खुले पनि नेपाल प्रहरीले उनलाई पक्राउ गर्न नसक्नुको प्रमुख कारण आइबीको चासो र भारतीय प्रहरीको असहयोग रहेको स्रोतको दाबी छ । बिहार रक्सौलका पासवान मोहम्मद हत्याका मुख्य योजनाकार रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । तर भारतीय पक्षले पासवानलाई पक्राउ गर्न मात्रै होइन, घटनाको थप अनुसन्धान अघि बढाउन पनि अवरोध गरिरहेको छ । मोहम्मद हत्या घटनाको अनुसन्धानमा आइबीले अनावश्यक चासो दिएपछि नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले अवरोध नगर्न आग्रह गरेको स्रोतले बतायो ।
‘लाल मोहम्मद हत्या घटनामा थप अनुसन्धान गर्न भारतीय इन्टेलिजेन्स ब्युरोले अवरोध गरेपछि महानिरीक्षक धिरजप्रताप सिंह आफैंले दिल्लीस्थित ब्युरोका अधिकारीसँग कुरा गरेर अनुसन्धानको घेरामा रहेका बब्लु पासवानलाई नेपाल पठाइदिन आग्रह गरेका छन्,’ प्रहरीका एक उच्च अधिकारीले भने । यसमा भारतको स्थानीय प्रशासन र प्रहरी प्रशासनले असहयोग गरेको स्रोतको दाबी छ ।
मोहम्मद हत्या प्रकरणमा अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईको संयोजकत्वमा एउटा समिति गठन भएको थियो । समितिले मंसिर २ मा सरकारी वकिल कार्यालयमा अभियोगपत्र बुझाइसकेको छ । घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका केही व्यक्तिलाई पुर्पक्ष थुनामा राखिएको छ ।
समितिको अनुसन्धानले मोहम्मदको हत्या भारतीय बब्लु पासवानकै योजनामा भएको निष्कर्ष निकालेको छ । यस हत्या प्रकरणमा प्रहरीले २५ भन्दा बढी व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरेको छ । निर्वाचनका बेला अनुसन्धान रोकिएको भए पनि समितिले नियमित काम गरिरहेको छ । भारतीय नक्कली नोटसँगै युरेनियम कारोबारमा संलग्न भएको आशंका र पाकिस्तानको इन्टर–सर्भिसेस इन्टेलिजेन्स (आइएसआई) को समर्थनमा आतंकवादी सञ्जालसँग जोडिएको हुन सक्ने भन्दै भारतीय आपराधिक ग्याङले मोहम्मदको हत्या गरेको हुन सक्ने अनुमानसहित नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
सर्लाही हरिवन नगरपालिका–२ स्थायी घर भएका मोहम्मदको गत असोज ३ मा कागेश्वरी–मनोहरा नगरपालिका–८ गोठाटारमा हत्या गरिएको थियो । मोहम्मदको उनकै गार्मेन्ट कम्पनी एडभेन्चर इन्टरप्राइजेजअगाडि गोली हानेर हत्या गरिएको थियो ।
प्रहरीका अनुसार पासवान लागुऔषध मुद्दामा पर्साको वीरगन्जस्थित कारागारमा पाँच वर्ष कैद सजाय पाएका व्यक्ति हुन् । उनी आफैं ‘सुटर’ भने होइनन् । ‘बब्लु पासवान आफैं सुटर होइनन्, सुटर अरू नै भएकाले उनलाई पक्राउ गरेपछि मात्रै अरू सबै थाहा हुनेछ,’ अनुसन्धान समितिका एक सदस्यले भने । प्रहरीका अनुसार पासवानले हतियार ल्याएर वीरगन्ज महानगरपालिका–१६ का २१ वर्षीय महोरम मियाँ र १७ वर्षीय रेहान मियाँलाई दिएका थिए । उनकै निर्देशनमा मोहम्मदलाई मार्न महोरम र रेहानले हतियार काठमाडौंसम्म ल्याई ‘सुटर’लाई दिएका थिए । तर सुटर को हो भन्नेबारे अहिलेसम्म खुलेको छैन ।
‘भारतीय सेना वा प्रहरी तथा तालिमप्राप्त कुनै व्यक्ति हुन सक्छन्,’ प्रहरी स्रोतले भन्यो । मोहम्मद आफैं पनि कुनै बेलाका सुटर भएको प्रहरीको दाबी छ।
प्रहरीले हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएका वीरगन्ज– १६ का २१ वर्षीय महोरम मियाँ, सोही ठाउँका १७ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका–१ की २१ वर्षीया सुमी भनिने सुस्मिता स्याङ्तानलाई पुर्पक्ष थुनामा पठाएको छ । प्रहरीले पासवान, एक नेपाली युवती, भारतका ‘गुड्डु’ भनिने नितिनमोहन खानसहित ६ जनालाई फरार सूचीमा राखेको छ। उनीहरूलाई प्रहरीले पक्राउ गर्न नसकेको हो वा नचाहेको खुल्न सकेको छैन । ‘अनुसन्धानका क्रममा २५ भन्दा बढी व्यक्ति परेका छन् । ती सबैको बयानका आधारमा प्रहरीले बब्लु पासवान मुख्य अभियुक्त भएको ठहर गरेको छ,’ स्रोतले भन्यो । नितिनमोहन खानले काठमाडौंतर्फको व्यवस्थापन गरेको र त्यसका लागि पासवानले सहयोग गरेको बुझिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।













प्रतिक्रिया