
काठमाडौं, २२ मंसिर । मंसिर ४ मा सम्पन्न निर्वाचनले गठबन्धनलाई अस्वीकार गरेको नेकपा एमालेको ठहर छ । नेपाली कांग्रेसको नेतृत्वमा बहुमतको आह्वान गर्दै पाँच दल चुनावमा गए पनि त्यसलाई जनताले अस्वीकार गरेको एमालेले जनाएको छ । बहुमतको आह्वानसहित निर्वाचनमा होमिए पनि गठबन्धन दलहरूलाई आवश्यक सिट संख्या अपुग भएको थियो ।
समानुपातिकको मतलाई आधार मान्ने हो भने एमाले सबैभन्दा ठूलो दल भएको छ तर प्रत्यक्ष र समानुपातिकको सिट संख्या हेर्दा कांग्रेस ठूलो दल भएको छ । यसले गर्दा एमालेले गठबन्धन दलहरूलाई बहुमत नदिएको र जनताले अस्वीकार गरेको जनाएको हो । निर्वाचन आयोगले दिएको जानकारीअनुसार एमालेले प्रदेशसभामा ७० सहित १०४ सिट पाएको छ । उसले प्रतिनिधिसभामा ३४ सिट पाएको छ । समानुपातिकतर्फ दोस्रोमा रहेको कांग्रेसले प्रतिनिधिसभामा ३२ सिट पाएको छ भने प्रदेशसभामा ६४ सिट पाएको छ । माओवादी केन्द्रले प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २९ सहित ४३ सिट जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा १३ सिट पाएको छ । प्रदेशसभामा उसले उम्मेदवारी दिएको थिएन ।
बुधबार बसेको एमाले केन्द्रीय कार्यालय बैठकले मंसिर २९ भित्र निर्वाचनको समीक्षा रिपोर्ट पठाउन ७७ वटै जिल्ला कमिटीलाई निर्देशन दिएको छ । निर्वाचनका क्रममा थोरै मतले हारजित भएका जिल्ला र उम्मेदवारका विषयमा पनि टीकाटिप्पणी उठेका बेला बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्यालय बैठकले मंसिर ४ मा सम्पन्न आमनिर्वाचनको समीक्षा रिपोर्ट मंसिर २९ भित्र केन्द्रमा पठाइसक्न निर्देशन दिएको हो ।
एमाले सचिव योगेश भट्टराईका अनुसार अहिलेको अवस्थामा सबै जिल्लाको रिपोर्ट आएपछि नै कहाँ र कुन अवस्थामा के भएको भन्नेबारेमा थप समीक्षा हुने छ । साथै बैठकले पार्टी अध्यक्ष केपी ओलीको परामर्शमा चाँडै केन्द्रीय सचिवालय बैठक बोलाउने निर्णयसमेत गरेको छ ।
सचिवालय बैठकपछि केन्द्रीय समिति बैठकमार्फत निर्वाचन समीक्षा गर्ने एमालेको तयारी छ । केन्द्रीय कार्यालय बैठकले प्रतिकूल परिस्थितिका बाबजुद निर्वाचनमा एमालेले ल्याएको परिणामलाई बैठकले गम्भीर रूपमा लिएको र अहिलेको घेराबन्दीलाई सकेसम्म पराजित गरेको निष्कर्ष निकालेको छ । बैठकले गठबन्धन दलहरूबीच सरकार गठन प्रक्रिया अगाडि बढिरहेकाले एमालेले ‘पर्ख र हेर’ को नीति लिने जनाएको छ । एमालेले केही दिनमा पार्टी सचिवालय बैठक र केन्द्रीय कमिटीको बैठक बस्ने तयारी गरेको छ । आजको नागरिक दैनिकमा खबर छ ।













प्रतिक्रिया