
काठमाडौं, २१ मंसिर । नेपालमा पहिलो पटक १८ वर्षमुनिको महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनसिप हुने भएको छ ।
एसिया रग्बी सङ्घको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा मङ्सिर २५ र २६ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा प्रतियोगिता आयोजना हुने नेपाल रग्बी सङ्घका महासचिव चेतन राज गिरीले जानकारी दिए ।
उनले प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ पाँच राष्ट्रको सहभागिता रहने जानकारी दिदै पुरुषतर्फ नेपालसहित चाइनिज ताइपेइ, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्याण्ड, मलेसिया, दक्षिण कोरिया, भारत र बङ्गलादेशको सहभागिता रहने र महिलातर्फ नेपाल, भारत, युएई, मलेसिया र थाइल्याण्डको सहभागिता रहने बताए ।
उनले प्रतियोगितामा सहभागिता जनाउनका लागि भारतीय टोली सोमबार नै नेपाल आइसकेको र अन्य टोली आउने क्रममा रहेको जानकारी दिए ।
नेपालको टोलीले करिब डेढ महिनादेखि हेटौंडाको रङ्गशालामा तयारी गरिरहेको पनि उनले जानकारी दिए ।















प्रतिक्रिया