३० आश्विन २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध निर्माण गरिरहेकोमा नेपालले भारतलाई मंगलबार कूटनीतिक नोट पठाएको छ ।

महाकाली नदी अतिक्रमण गरी भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहेको सन्दर्भमा रोक्न माग गर्दै नेपालले कूटनीतिक नोट पठाएको हो । एक वर्षयता भारतीय पक्षले उत्तराखण्डको धार्चुलातर्फबाट सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी तटबन्ध बनाइरहेको छ ।

यस्तै, मंगलबार नक्कली सुकुम्बासीलाई हटाउनुपर्ने र सक्कलीको व्यवस्थापन गर्नुपर्ने भन्दै काठमाडौं महानगरपालिकाअगाडि धर्ना दिइएको छ । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले महानगरको कार्यालयअगाडि धर्ना दिएको हो ।

सुकुम्बासीका नाममा भइरहेको राजनीतिलाई अन्त्य गर्नुपर्नेमा समितिले जोड दिएको छ ।

हेरौँ आज दिनभरका समाचारहरू–

१. बल्ल बिउँझियो सरकार : महाकाली नदी अतिक्रमण गरी एकतर्फी रुपमा भइरहेको तटबन्ध निर्माण रोक्न नेपालले भारतलाई पठायो कुटनीतिक नोट, सीमाक्षेत्रमा शान्ति व्यवस्था खलबलिने गरी यस्ता घटना दोहोरिन नदिन सचेत रहनुपर्ने उल्लेख ।

२. नक्कली र सक्कली छुट्टयाऊ : नक्कली सुकुम्बासीलाई हटाउनुपर्ने र सक्कलीको व्यवस्थापन गर्नुपर्ने भन्दै काठमाडौं महानगरपालिकाअगाडि धर्ना, सुकुम्बासीका नाममा भइरहेको राजनीतिलाई अन्त्य गर्नुपर्नेमा जोड ।

३. नेकपा एसले दलको मान्यता पाएन : माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेसँगै राष्ट्रिय पार्टी बन्न असफल, कैयौँ नेता तथा कार्यकर्ताहरू निराश ।

४. दीपक मनाङ्गेले नेकपा एसमा ल्याए तरङ्ग : दीपक मनाङ्गे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेसँगै पार्टीभित्र नेतृत्वको चर्को आलोचना, गण्डकी प्रदेश सदस्य शिवजी गुरुङले दिए पार्टी छोड्ने चेतावनी ।

५. भारतले एकलौटी गर्न पाउँदैन : महाकाली नदी नेपाल र भारतको सीमा भएकाले भारतले मात्रै एकलौटी रूपमा संरचना बनाउन नपाउने एमाले स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख डा राजन भट्टराईको भनाइ, सरकार मौन बसेको भन्दै गरे चर्को आलोचना ।

६. न्यायाधीशलाई लाग्यो बलात्कार आरोप : कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीविरुद्व बलात्कार आरोपमा उजुरी दर्ता, गिरीले महिलालाई करिब ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरेको आरोप ।

७. काठमाडौंमा खानेपानीको जहिल्यै समस्या : काठमाडौंमा खानेपानीको समस्या समाधानका लागि नवनिर्वाचित सांसदहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझायो ध्यानाकर्षण पत्र, मेलम्ची खानेपानी आयोजनालाई दीर्घकालीन रुपमा अघि बढाउन माग ।

८. नागरिकता विवादको झमेलामा नवनिर्वाचित सांसद : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले माग्यो अमेरिकी नागरिकता र राहदानीसम्बन्धी जानकारी, काठमाडौंस्थित अमेरिकी दूतावासलाई पठायो पत्र ।

९. पूर्व प्रधानमन्त्री दाहाल र अमेरिकी राजदूतबीच भेट : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबीच भेटवार्ता, ४० मिनेटसम्म चलेको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र सहकार्यलगायत विषयमा छलफल ।

१०. धमाधम खर्च विवरण बुझाउँदै नेताहरू : प्रधानमन्त्री शेरबहादुर देउवा र राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले निर्वाचन आयोगमा बुझाए चुनावी खर्च विवरण, देउवाको २६ लाख १२ हजार र मिश्रको २४ लाख ४९ हजार ६०७ रुपैँया खर्च ।

११. राजधानी सारेको आपत्ति : लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको कार्यालय बुटवलबाट रातारात दाङ सारियो, छापामार शैलीमा मन्त्रालयका समानहरु सारिनु गलत भएको एमालेबाट नवनिर्वाचित प्रदेश सांसद भोजराज श्रेष्ठको भनाई ।

१२. बिहे भोज खानेहरू बिरामी परे : प्युठानमा बिवाहको भोज खाएका एकै गाउँका ४६ जना जन्ती बिरामी, बिरामीमा ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्ने, पखाला लाग्ने र बान्ता हुने समस्या ।

१३. टिपर दुर्घटनामा मृत्यु : नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट बा २ ख ७४६२ नम्बरको टिपर खस्यो, चालक धादिङका सन्तबहादुर राईको घटनास्थलमै मृत्यु ।

१४. पहिरोको वितण्डा : कोलम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु, ९ जनाको जीवितै उद्वार, ४ जनाको अवस्था गम्भीर ।

१५. नैतिक जिम्मेवारी लिँदै राजीनामा : दक्षिण कोरियाका मुख्य फुटबल प्रशिक्षक पाउलो बेन्टोले दिए पदबाट राजीनामा, कतार विश्वकपको राउण्ड अफ १६ बाट दक्षिण कोरिया बाहिरिएपछि नैतिक जिम्मेवारी लिँदै छाडे पद ।