१ कार्तिक २०८३, आइतबार

सात पार्टीले पाए दलको मान्यता, प्रत्यक्षमा जितेर पनि यी पार्टी राष्ट्रिय दल बन्न सकेनन् (सूची)

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । निर्वाचन आयोगले मंसिर ४ गते भएको निर्वाचन अन्तर्गत प्रतिनिधि सभाको समानुपातिकतर्फ मतगणना सकिएको जनाएको छ ।

मत परिणामका आधारमा सात वटा राजनीतिक पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् । निर्वाचन आयोगका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

१ करोड ५ लाख ६० हजार ६७ सदर मत गणना हुँदा समानुपातिकतर्फ नेकपा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएर पहिलो पार्टी बनेको छ भने नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत ल्याएर दोस्रो पार्टी पाएको छ । कांग्रेसले समानुपातिकमा पाएको मत एमालेको भन्दा एक लाख ३० हजार ४१६ ले कम मत हो ।

समानुपातिकतर्फको मतमा तेस्रो नम्बरमा रहेको माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेर चौथो बनेको छ ।

यस्तै, पाँचौंमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत र छैटौँमा रहेको जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ३१३ मत प्राप्त गरेको छ । यस्तै, सातौँमा रहेको सीके राउतको पार्टी जनमत पार्टीले ३ लाख ९४ हजार ५६६ मत पाएको छ ।

प्रत्यक्षमा जितेर पनि यी पार्टीले पाएनन् दलको मान्यता

प्रत्यक्षतर्फ एकदेखि १० वटासम्म सीट जितेर पनि पाँच वटा पार्टी राष्ट्रिय दल बन्न असफल भए । यसरी असफल हुने पहिलो पार्टी हो माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समावजादी) पार्टी । जसले प्रत्यक्षमा १० वटा सीट जितेर पनि राष्ट्रिय दल बन्न पाएन ।

त्यस्तै, दोस्रोमा लोकतान्त्रिक समाजवादी पार्टी रह्यो । जसले प्रत्यक्षमा चार सीट जितेर पनि राष्ट्रिय दलको मान्यता पाएन । यसैगरी नागरिक उन्मुक्ति पार्टी पनि राष्ट्रिय दल बन्न सकेन, जसले प्रत्यक्षमा ३ सीट जितेको थियो ।

यस्तै, १/१ सीट जित्ने राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी पनि राष्ट्रिय दल बन्न असफल बने ।

समानुपातिकमा नेकपा एसले २ लाख ९८ हजार ३९१, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ७२२, लोकतान्त्रिक समाजवादी (लोसपा)ले १ लाख६७ हजार ३६७, नेपाल मजदुर किसान पार्टीले ७५ हजार १६८ र राष्ट्रिय जनमोर्चाले ४६ हजार ५०४ मत पाएका छन् ।

यो निर्वाचनमा स्वतन्त्रतर्फ ५ जनाले प्रत्यक्ष निर्वाचन जितेका छन् ।

दलको मान्यता पाएका पार्टीको सूची–

१. नेकपा एमाले
२. नेपाली कांग्रेस
३. नेकपा माओवादी केन्द्र
४. राष्ट्रिय स्वतन्त्र पार्टी
५. राष्ट्रिय प्रजातन्त्र पार्टी
६. जनता समाजवादी पार्टी
७. जनमत पार्टी

दलको मान्यता नपाएका पार्टीको सूची–

१. नेकपा (एकीकृत समाजवादी) पार्टी
२. लोकतान्त्रिक समाजवादी पार्टी
३. नागरिक उन्मुक्ति पार्टी
४. राष्ट्रिय जनमोर्चा
५. नेपाल मजदुर किसान पार्टी