
काठमाडौं, २० मंसिर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले हिजो सोमबार पार्टी प्रवेश गराएका राजीव गुरुङ उर्फ ‘दीपक मनाङ्गे’लाई महासचिव डा. बेदुराम भुसालले आज पार्टी कार्यालयमा भित्र्याए ।
पार्टी कार्यालयमा आयोजना गरिएको विशेष पत्रकार सम्मेलनमार्फत मनाङ्गे तीनकुनेस्थित नेकपा एसको कार्यालयमा प्रवेश गरेका हुन् । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री समेत रहेका मनाङ्गेलाई पार्टी कार्यालयमा स्वागत गर्दै महासचिव भुसालले मन्त्री भएर उनले गरेका कामको मुक्तकण्ठले प्रसंशा गरे । प्रदेशमन्त्री भएर गुरुङले राम्रो काम गरेको उल्लेख गर्दै त्यसबाट सिकेर आफूहरू अघि बढनुपर्ने भुसालको भनाइ थियो ।
‘एक अवधि उहाँले प्रदेश सरकारको मन्त्री भएर पनि काम गरेर देखाई सक्नु भएको छ । त्यसबाट सिक्नु पर्छ । उहाँले गरेका कामबाट सिक्नुपर्छ भन्ने मलाई लाग्छ । र, यसरी अघि बढने प्रतिवद्धताका साथ अगाडि आउनु भएकोमा हार्दिक स्वागत गर्न चाहन्छु,’ महासचिव भुसालले भने, ‘भविष्यमा अझै राम्रो काम गर्दै अगाडि बढन सक्नुहोस् । उहाँको राजनीतिक जीवन सफल बन्दै जाओस् । साचो अर्थमा जनताको सेवक बनेर काम गर्न सक्नुहोस् भन्ने शुभकामना पनि दिन चाहन्छु ।’
भुसालले गुरुङले आफ्नो विगतलाई बदलेर राजनीतिलाई जनसेवाको रूपमा अघि बढाउने प्रतिवद्धता जनाएको उल्लेख गर्दै त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने तर्क समेत गरे । गुरुङको विगतलाई लिएर कतिपयले टिप्पणी गरेको भन्दै महासचिव भुसालले अब भने वर्तमानमा गरेको कामलाई हेरेर साथ दिन सबैसँग आग्रह गरे । मनाङ्गे गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिक यात्रा प्रवेश गरेका व्यक्ति हुन् ।
गुरुङले वर्तमानमा सिक्नलायक काम गरेको र भविष्यमा पनि राम्रो काम गर्दै जाने विश्वास महासचिव भुसालको छ । ‘उहाँ आफैले भन्नु भएको छ, राजनीति सेवा हो । जनसेवा हो । नि:शर्त रूपमा गरिने जनसेवा हो । त्यो जनसेवामा एक्लै बसेर हुुँदैन । पार्टीमा आवद्ध भएर जानुपर्ने रहेछ भन्ने महशुस गरेर म यो पार्टीमा आएको हुँ भन्नु भएको छ । म यहाँहरूसँग के कुरा राख्न चाहन्छु भने उहाँको विगतलाई लिएर कतिपय टिप्पणीहरू गर्ने गरिएको पाईन्छ । तर, हामीले के बुझ्नु पर्छ भने मान्छे–मान्छेनै हो, जसले राम्रो काम पनि गर्छ । कहिलेकाँही काम गर्दै जाँदा गल्ती पनि गर्छ ।’
उनले थपे, ‘मान्छेलाई, मान्छेको इतिहासलाई विगतको आँखाले मात्रै हेर्न हुँदैन । विगत, वर्तमान र भविष्य सबै हुन्छ हाम्रा अगाडि । त्यसैले विगतमा के थियो भन्ने कुरा भन्दा पनि वर्तमानमा के छ भनेर हेर्नुपर्ने पर्छ । भविष्यमा कता जाँदैछ भनेर हेर्नु पर्छ । राजीवजीले आफ्नो विगतलाई बदलेर जसरी जनसेवाको भावनाले राजनीति गर्छु, अगाडि बढछु भन्ने प्रतिवद्धताका साथ अगाडि बढनु भएको छ । त्यसलाई सकारात्मक ढंगले लिनु पर्दछ । र, समाजमा भएको अरु पनि विगतमा कहिलेकाँही बाटो बिराएर समाजले नरुचाउने खालका कामहरू गर्ने व्यक्तिहरू पनि हुनुहुन्छ भने उहाँले जसरी अहिले नयाँ ढंगले अगाडि बढने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।’















प्रतिक्रिया