चरिकोट (दोलखा), ३० वैशाख । दोलखामा मङ्गलबार गएको भूकम्पबाट ५४ जनाको मृत्यु भएको छ । अन्य २०६ जना घाइते भएका छन् ।
भूकम्पबाट मृत्यु हुनेमा काटाकुटी गाविसका दुई वर्षीया जेनिशा खड्का, भीमेश्वर नगरपालिका–१ का १० वर्षीय नवीन राउत, लाकुरी गाविसका प्रेमाडोल्मा शेर्पा, भीमेश्वर नगरपालिका–५ का चित्रप्रसाद चौलागार्इं र उनकी श्रीमती पूर्णिमा चौलागार्इं, भीमेश्वर नगरपालिका–४ का रुपमा तामाङ, सोही वडाका ८१ वर्षीय मैते विक तथा ७९ वर्षीय धनबहादुर खत्री, भीमेश्वर नगरपालिका–९ का ३८ वर्षीया सिर्जना थापा, सोही वडाका पाँच वर्षीय रोजन बस्नेत, ओराङ–७ का ३० वर्षीया लक्ष्मी श्रेष्ठ, लामावगर–५ का ४० वर्षीया राममाई तामाङ तथा सोही वडाका आठ वर्षीय मीनदोर्जे तामाङ रहेका छन् ।
चरीकोटस्थित नेपाली सेनाको बर्दबहादुर गणका सेनानी राजन दाहालले दिएको जानकारीअनुसार फस्कु गाविस–३ का शान्तमाया तामाङ, सोही वडाका हस्तकुमारी बुढाथोकी, फस्कु–८ का निरुता मोक्तान, भेड्पु–५ का ७४ वर्षीया जमुना तामाङ, गौरीमुदीका ७९ वर्षीया पूर्णि तामाङ, भीमेश्वर नगरपालिका–१० का ७२ वर्षीया मनमाया तामाङ, झुले–५ का आयुष कार्की र भुसाफेदा–६ का ५७ वर्षीय टङ्क श्रेष्ठको समेत भूकम्पमा परी मृत्यु भएको छ ।
यसैगरी, भीमेश्वर नगरपालिका–१० का ५५ वर्षीया रुकु थापा, सुनखानी–३ का बुढिनी पाठक, सुस्पाक्षमावती–३ का पुष्कर थामी, सुरी–७ का ६५ वर्षीया शशिदेवी पाख्रिन, लामिडाँडा–५ का विष्णुमाया श्रेष्ठ, ठेगाना नखुलेका २५ वर्षीय सिर्जन गुरुङ, जफे–८ का १९ वर्षीया सुरडा काफ्ले, सोही वडाका १६ वर्षीया निरुता कार्की र बाबरे गाविस–३ का कर्मवीर थामी रहेका छन् । सिँगटी गाविसमा नाम ठेगाना नखुलेका तीन शव फेला परेको सेनानी दाहालले बताउनुभयो ।
यस्तै, कैलालीको फुलबारी घर भएका माधव भुसालको भिरकोट गाविसमा शव फेला परेको छ । जिरी नगरपालिका–१ एलुङका ३१ वर्षिया जिमासाङ्गे शेर्पा, चिलँखा–८ का १६ वर्षीय राजेश खड्का, सोही वडाका १७ वर्षीय किशन खड्का र १९ वर्षीय मकर विक तथा उक्त वडाकै ३५ वर्षीया दुर्गा खड्का र चिलँखा गाविस–७ का १९ वर्षीय विजय विसीको समेत भूकम्पमा परी मृत्यु भएको सेनाले जनाएको छ ।
यसैगरी भीमेश्वर नगरपालिका–१० का अनिल कार्की, सोही वडाका एञ्जिला पौडेल, क्षेत्रपा–१ का मदन श्रेष्ठ, सुस्पाक्षमावती–४ का सानीकान्छी नेपाली, बुलुङ गाविसमा एक वर्षीय बालक तथा वावरे–१ मा नाम नखुलेका अर्का एक व्यक्तिको शव फेला परेको छ । सेनानी दाहालका अनुसार लापिलाङ गाविस–५ मा चार, सोही गाविसको वडा नं २ र ४ मा एक÷एक शव फेला परेको छ । चरिकोटस्थित अरनिको डेभलपमेन्ट बैंकका प्रबन्धक उमेश अधिकारीको समेत भूकम्पमा परी मृत्यु भएको छ । मङ्गलबार बैंकको भवन भत्किँदा उनको शव पुरिएको थियो । अधिकारीको शव आज नेपाली सेनाले भग्नावशेषबाट निकालेको छ ।
भूकम्पमा परी घाइते भएकाहरुको उद्धार गर्ने क्रममा नेपाली सेनाका सेनानी कपुर सिंह गम्भीर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ । रासस












प्रतिक्रिया