मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

मतदातालाई धन्यवाद र विजयीलाई बधाई ज्ञापन गर्दै बालकृष्ण शिबाकोटीले के भने ?

‘राजनीतिक यात्रामा रहिरहन्छु, दोलखाको विकास र समृद्धिमा लागिरहन्छु’

दैनिक नेपाल २०७९ मंसिर १९ गते २१:३६

दोलखा, १९ मंसिर । नेकपा एमालेका तर्फबाट दोलखामा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिबाकोटीले आफू पदमा भए पनि नभए पनि दोलखाको विकास र समृद्धिको सपना साकार पार्न लागिपर्ने बताएका छन् ।

प्रतिनिधि सभा निर्वाचनमा झिनो मतले पराजय व्यहोरेका शिबाकोटीले आम मतदातालाई धन्यवाद ज्ञापन गर्दै जिल्लावासीको विकास र समृद्धिको सपना पूरा गर्न खटिरहने र सधैं जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

चुनावमा पराजित भए पनि आफू अलीकति पनि विचलित नभई राजनीतिको लामो र निरन्तरको यात्रामा सक्रिय रहने समेत उनले स्पष्ट पारेका छन् । ‘मेरो राजनीतिक सक्रियता आगामी दिनमा अझ बढी रहनेछ । देश र जनताको हितमा मेरो जीवन सदा समर्पित रहने दृढता पुन: व्यक्त गर्न चाहन्छु,’ उनले भने ।

लोकतन्त्रिक शासन पद्धतिका निम्ति निर्वाचन नियमित प्रक्रिया भएको बताउँदै उनले अगाडि भने, ‘राजनीतिक पार्टीहरूका लागि चुनाव आउँछ, जान्छ । संसदीय निर्वाचनमा हार–जितलाई स्वाभाविक रूपमा लिनुपर्छ । चुनावमा सधैंभरि जित सधैं पराजय हुन सक्दैन । प्राविधिक रूपमा पराजित हुन परे पनि हामी जनताको मनमष्तिष्कमा बस्न सफल भएका छौँ ।’

दोलखामा राजनीतिक विकृतिलाई रोकेर शुद्धीकरणमार्फत लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न दोलखा एमाले सफल भएकोमा शिबाकोटीले खुशी व्यक्त गरेका छन् । आगामी निर्वाचनहरूमा दोलखाको कुनै पनि मतदान केन्द्रमा गएर मतदाताले ढुक्कसँग मत जाहेर गर्न पाउने वातावरण बनाएको उनको भनाइ छ ।

यस्तो छ विज्ञप्ति–

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दोलखाबाट नेकपा माओवादी केन्द्रका गंगा कार्की ज्यू प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकोमा उहाँलाई मेरो हार्दिक बधाई छ ।

यस निर्वाचनमा म दोलखामा नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकोमा मलाई आफ्नो अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण मतदाताहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

अनेक दु:ख कष्ट सहेर निर्वाचन प्रचारप्रसारमा अहोरात्र खटेर सहयोग गर्नुहुने नेकपा (एमाले) का नेता तथा कार्यकर्ता र सञ्चारकर्मी साथीहरूप्रति म हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दछु ।

लोकतन्त्रिक शासन पद्धतिका निम्ति निर्वाचन नियमित प्रक्रिया हो। राजनीतिक पार्टीहरूका लागि चुनाव आउँछ, जान्छ । संसदीय निर्वाचनमा हार जितलाई स्वभाविक रूपमा लिनुपर्छ । चुनावमा सधैँभरि जीत सधैँ पराजय हुनसक्दैन ।

प्राबिधिक रूपमा हारेतापनि हामी जनताको मनमस्तिष्कमा बस्न सफल भएका छौँ । चुनाव हारेतापनि अलिकति पनि म बिचलित नभई राजनीतिको लामो र निरन्तरको यात्रामा सक्रिय रहने छु । मेरो राजनीतिक सक्रियता आगामी दिनमा अझ बढी रहनेछ । देश र जनताको हितमा मेरो जीवन सदा समर्पित रहने दृढता पुन: व्यक्त गर्न चाहन्छु ।

दोलखामा हामीले राजनीतिक विकृतिलाई रोकेर शुद्धीकरणमार्फत लोकतान्त्रिक मूल्य मान्यता स्थापित गरेका छौँ । यस प्रति म निरन्तर प्रतिबद्ध रहनेछु । म पदमा भए पनि नभए पनि जिल्लाबासीको विकास, समृद्धिको सपना पूरा गर्न खटिरहनेछु र म यहाँहरूकै साथमा रहनेछु ।

यस स्थितिमा पार्टीका आम कार्यकर्तालाई धैर्य, निष्ठा र भरोसाका साथ सक्रिय रहनसमेत हार्दिक आग्रह गर्दछु । धन्यवाद ।

बालकृष्ण शिवाकोटी
प्रतिनिधिसभा सदस्य उम्मेदवार
नेकपा एमाले दोलखा

प्रतिक्रिया
सम्बन्धित