मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ मंसिर १९ गते २१:१३

काठमाडौं, १९ मंसिर । मंसिर ४ गते भएको आम निर्वाचन २०७९ को सम्पूर्ण नतिजा आएसँगै दलका नेताहरू केन्द्र र प्रदेश सरकार गठनको जोड–घटाउमा केन्द्रत हुन थालेका छन् ।

यसैबीच पाँचदलीय सत्ता गठबन्धनभित्र रहेका नेपाली कांग्रेस, नेकपा एमाओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठक आज बालुवाटारमा बसेको छ । तर, बैठकले सत्ता समीकरणको विषयमा कुनै निर्णय लिन सकेको छैन ।

यस्तै सत्तासीन बन्नका लागि नवनिर्वाचित सांसद एवम् जनमत पार्टीका अध्यक्ष सीके राउतले विभिन्न राजनीतिक दलका प्रमुखहरूसँगको भेटघाटलाई तीव्र पारेका छन् भने मन्त्री बन्नकै लागि स्वतन्त्र सांसद दीपक मनाङ्गे नेकपा एसमा प्रवेश गरेका छन् ।

हेरौँ आज दिनभरका समाचारहरू–

१. एमाले बन्यो देशकै लोकप्रिय पार्टी : प्रतिनिधि सभाको समानुपातिकतर्फ २७ लाख ९१ हजार मत प्राप्त गरी नेकपा एमाले बन्यो लोकप्रिय पार्टी, दोस्रोमा कांग्रेस र तेस्रोमा माओवादी केन्द्र ।

२. निर्वाचन परिणाम : प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका सम्पूर्ण नतिजा सार्वजनिक, ५७ सीट जितेर कांग्रेस बन्यो ठूलो दल, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो ।

३. बैठक निष्कर्षविहीन : नयाँ सरकार गठनबारे छलफल गर्न बसेको पाँच दलीय सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन, निर्वाचनले गठबन्धनको आवश्यकता पुष्टि गरेकाले गठबन्धनकै सरकार बन्ने प्रचण्डको भनाइ ।

४. दोलखामा माओवादीका कार्की विजयी : गठबन्धनले बुथ कब्जा गरेपछि सर्वाधिक चर्चामा रहेको दोलखामा गठबन्धनबाटै माओवादीका गंगा कार्की विजयी, ३१८ मतको झिनो मतान्तरले एमाले बालकृष्ण शिबाकोटी पराजित ।

५. स्वतन्त्र सांसद मनाङ्गेलाई राजनीतिक दल चाहिएपछि… : मनाङ प्रदेशसभा–२ बाट निर्वाचित राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ एकीकृत समाजवादीमा प्रवेश, माधव नेपालले गरे स्वागत ।

६. सीके राउतको दौडधुप : जनमत पार्टीका अध्यक्ष सीके राउत र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच भेट, समसामायिक राजनीतिक घटनाक्रमबारे छलफल ।

७. रेबिज सङ्क्रमण पुष्टि भएपछि काभ्रेमा तनाव : काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिज सङ्क्रमण भेटियो, एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु ।

८. सुकुम्बासीको प्रदर्शन जारी : काठमाडौं महानगरविरुद्व आज पनि काठमाडौंमा सुकुम्बासीहरूले गरे प्रदर्शन, उचित विकल्पविना उठीबास नलगाउन माग ।

९. कांग्रेस कार्यकर्ताले पत्रकार कुटे : बागमती एक्सप्रेस साप्ताहिकका प्रकाशक रमेश बञ्जरा र पत्रिकाका स्तम्भकार रामकुमार रिजाल कांग्रेस कार्यकर्ताबाट कुटिए, घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा तनाव ।

१०. स्वयंसेविका अक्षयकोषको निरन्तरता : ललितपुर महानगरले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने, आगामी वर्ष प्रगति प्रतिवेदन सार्वजनिक गर्ने मेयर चिरीबाबु महर्जनको भनाइ ।

११. भुवन केसीलाई काम गर्न दिनू : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले पदीय हैसियतमा कामकाज गर्न पाउने बाटो खुल्यो, योग्यतामाथि प्रश्नको मुद्दामा अन्तिम फैसला नभएसम्म काम गर्न दिन सर्वोच्च अदालतको आदेश ।

१२. विद्यार्थी भर्ना नगर्न/नगराउन आग्रह : चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिई शिक्षण संस्थाहरूले भर्ना आह्वान गरेपछि आयोगले निकाल्यो ध्यानाकर्षण विज्ञप्ति, मान्यता नपाएका संस्थामा भर्ना नगर्न/नगराउन विद्यार्थी, अभिभावक र सम्बन्धित सरोकारवालाहरुलाई आग्रह ।

१३. शेयर बजारको ओरालो यात्रा जारी : निर्वाचनको परिणामप्रति खुसी देखिएन शेयरबजार, सोमबार मात्रै २४ दशमलव ४६ अङ्कले घट्यो नेप्से, नेप्सेसँगै सबै उपसूचकमा समेत गिरावट ।

१४. पब्जीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा नेपाली टीम : पब्जी मोबाइल विश्व च्याम्पियनशीपको फाइनल चरणमा पुग्यो नेपाली टोली डीआरएस गेमिङ र ट्रेण्ड टु किल, करोडौं रुपैयाँ नेपाल भित्र्याउने दाबी ।

१५. पाकिस्तानलाई जलवायु प्रतिरोधी देश बनाइने : बाढीका कारण पाकिस्तानको अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति, पाकिस्तानलाई जलवायु प्रतिरोधी देश बनाउने खाका तयार पारेको पाकिस्तानी सरकारको दाबी ।

प्रतिक्रिया
सम्बन्धित