२९ आश्विन २०८३, बिहिबार

युक्रेनलाई थप हतियार उपलब्ध गराउने नेटोको प्रतिबद्वता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोले युक्रेनलाई थप हतियार उपलब्ध गराउने र रुसी क्षेप्यास्त्र तथा ड्रोन हमलाका कारण क्षतिग्रस्त महत्त्वपूर्ण ऊर्जासम्बन्धी पूर्वाधार मर्मत गर्न सहयोग पुर्‍याउने प्रतिबद्वता जनाएको छ ।

बुकरेस्टमा भएको एक सम्मेलनमा उक्त सैन्य सङ्गठनका प्रमुख यान्स स्टोलटेनबेर्गले मस्कोले जाडोयामलाई युक्रेन युद्धको हतियारको रूपमा प्रयोग गर्न खोजेको आरोप लगाए। रुसी आक्रमणहरूका कारण लाखौँ युक्रेनी चिसोबीच विद्युत् र खानेपानीबाट वञ्चित भएका छन्।

युक्रेनले नेटो समक्ष महिनौँदेखि परिष्कृत वायु प्रतिरक्षा प्रणालीको माग गर्दै आएको छ। जेनेभा महासन्धीअनुसार नागरिकमाथि वा उनीहरूको अस्तित्वलाई आवश्यक महत्त्वपूर्ण पूर्वाधारलाई आक्रमण गर्नु युद्ध अपराध हो। यसै साताको सुरुवातमा युक्रेनका अभियुक्तविरुद्ध कानुनी प्रक्रियाको नेतृत्व गर्ने एक जना सरकारी अधिकारीले रुसी आक्रमणहरूलाई नरसंहारको संज्ञा दिएका थिए।

बर्लिनमा आयोजित एक समारोहमा विश्वका धनी राष्ट्रहरूको जी सेभेन समूहका न्याय मन्त्रीहरूले युक्रेनमा भएको कथित युद्ध अपराधको अनुसन्धानमा समन्वय गर्ने बताएका छन्।

यसै वर्षको फेब्रुअरी २४ मा युक्रेनमाथि पूर्ण आक्रमणको आदेश दिएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले र क्रेमलिनका अन्य वरिष्ठ अधिकारीहरूले भने रुसी सेनामाथि युद्ध अपराधको आरोपको खण्डन गर्दै आएका छन्।