
सुनसरी, १३ मंसिर । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)की उम्मेदवार भगवती चौधरी विजयी भएकी छिन् ।
आज मंगलबार सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार चौधरीले ४० हजार ७८८ मत ल्याएर विजयी हासिल गरेकी हुन् ।
उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार १८८ मतान्तरले पराजित गरिन् । कांग्रेसका गच्छदारले ३५ हजार ६०० मत पाएका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले ६ हजार ४५३ मत प्राप्त गरेका छन् ।
२०४८ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका कांग्रेसका गच्छदारको संसदीय यात्रामा पहिलोपटक ‘ब्रेक’ लागेको छ भने तेस्रो पटकको प्रयासमा लक्ष्य हासिल गर्न सफल भएकी चौधरीलाई संसद प्रवेशको बाटो खुलेको छ ।
सुनसरी–३ को निर्वाचित जनप्रतिनिधि बनेर सिंहदरबार प्रवेश गर्न निरन्तर प्रयास गरिरहेकी ५१ वर्षीया चौधरी तेस्रो पटकमा लक्ष्य हासिल गर्न सफल भएकी हुन् । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढ्दै गर्दा अनेरास्ववियूमा २०४८ सालमा संगठित बनेकी चौधरी अहिले एमाले केन्द्रीय सदस्य छिन् ।















प्रतिक्रिया