२९ आश्विन २०८३, बिहिबार

कला, संस्कृतिको महत्व महसुस गरेको छु: मेयर साह

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले महानगरपालिका समृद्ध हुनका लागि कलाका गतिविधिहरु पनि उत्तिकै हुनुपर्ने महसुस गरेको बताएका छन्।

शुक्रबारदेखि काठमाडौंस्थित मण्डला थियटरमा सुरू भएको ‘नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ ९निटफेस्ट २०२२०’ को दोस्रो संस्करणको उद्घाटन समारोहमा शुभकामना दिँदै मेयर साहले महानगरले खेलकुद र कला हेर्ने छुट्टाछुट्टै विभाग बनाएर काम गर्ने सोच रहेको जानकारी दिए ।

“फिल्म र रङ्गमञ्चसँग जोडिएका फेस्टिभलहरू बजेटमा छैनन् । आउँदो वर्षदेखि रातो किताबमा नै ल्याएर सघाउने तयारीमा छौँ । त्यो हुँदा अझै खुलेर यस्ता महोत्सव गर्न सकिन्छ र त्यसको प्रभाव पनि त्यही अनुरुप हुनेछ भन्ने लाग्छ”, मेयर शाहले भने, “छुट्टाछुट्टै विभाग नहुँदा हामीले सहयोग गर्न सकिरहेका छैनौँ । कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने हुँदा हामी यसप्रति सजग छौँ ।”

सामाजिक रुपान्तरणको लागि रङ्गमञ्च: विविधिताको उत्सव’ भन्ने नाराका साथ सुरू भएको महोत्सव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका हुन्। नौ दिनसम्म थापागाउँ काठमाडौँस्थित मण्डला थिएटरमा चल्ने महोत्सवमा सहभागिता जनाउन भारतबाट अभिनेत्री शबाना आजमी नेपाल आएकी छिन् ।

जम्मा १२ देशका १८ नाटकको मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रम हुने महोत्सवमा विश्वभरबाट दुई सयभन्दा बढी नाट्य कलाकार सहभागी छन् । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।