५ कार्तिक २०८३, बिहिबार

सभाषद् भन्छन्-‘हामीले काम पाएनौं, दिन कटाउँनै गाह्रो भो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sansad-1काठमाडौँ, २७ वैशाख । सांसदहरूले मुलुक र जनता भूकम्पको चपेटामा परेका बेला आफूहरूलाई भूमिकाविहीन तुल्याइएकामा आक्रोश व्यक्त गर्नुभएको छ ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको आजको बैठकमा उहाँहरूले मुलुकलाई विपत्ति परेको समयमा जनप्रतिनिधिको भूमिकालाई अझ व्यापक र जिम्मेवार तुल्याउनुपर्नेमा राहतका काममा बेवास्ता गरिएको गुनासो गर्नुभयो ।

जनप्रतिनिधिलाई भूमिकाविहीन तुल्याउँदा सरकारले पीडित जनताका लागि सञ्चालन भएका उद्धार तथा राहतका कार्यक्रममा धेरै टीकाटिप्पणी भएका र वास्तविक पीडितले अझै सहायता पाउन नसकेको बताउनुभयो ।

जनप्रतिनिधिलाई भूमिकाविहीन तुल्याउँदा गैरसरकारी संस्थाको गतिविधि आफूखुशी बढेका, सहायताको सही सदुपयोग हुननसकेको, भत्किएका घरको तथ्याङ्क पनि व्यावहारिक हुन नसकेको उहाँहरूको कथन थियो । “सञ्चारमाध्यमले सोच्छन् तपाईंले के गर्नुभयो ? , जनता जिज्ञासा हुन्छ खोइ राहत सामग्री ?” उहाँहरूले आफ्ना पीडा सुनाउँदै भन्नुभयो–“ निर्वाचित भएर आइयो, भूमिका केही छैन, सभासद्को प्रतीक चिह्न नै फालेर हिँड्नुपर्ने अवस्था भयो, प्रमुख जिल्ला अधिकारीलगायत राहत तथा उद्धारको जिम्मेवारी पाएका संस्थाका प्रमुखलाई सम्पर्क गर्न खोज्दासमेत त्यसको सम्बोधन भएन ।”

सरकारका संयन्त्र कमजोर भएका कारण बजारका कालोबजारी मौलाएको, कृत्रिम अभाव देखाइएको, कम गुणस्तर र म्याद सकिएका सामान खुलेआम बिक्री वितरण भइरहेकामा उहाँहरूले चिन्ता व्यक्त गर्नुभयो ।

बैठकमा वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले भूकम्पपछि मुलुक नै अस्तव्यस्त भएको बेला मन्त्रालयले उद्धारसँगै तत्काल राहतका कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्रालय मातहतका सबै संयन्त्रलाई परिचालन गरिएको जानकारी दिनुभयो ।

पटक–पटकको भूकम्पका कारण अझै पनि कतिपय खाद्य उद्योगहरु पूर्णरुपमा सञ्चालनमा नआएका जनाउँदै उहाँले भन्नुभयो– “ छ महिना पुग्ने खाद्यान्न र तीन महिना धान्ने औषधि बजारमा मौज्दात छ ।

भूकम्पपीडितका लागि हालसम्म २५ हजार क्विन्टल चामल र आवश्यक दाल, तेल, चिनी प्रभावित जिल्लामा पठाइसकिएको जानकारी दिँदै मन्त्री थापाले अहिले पनि दैनिक ४५ ट्रक राहत सामग्री प्रत्येक जिल्लामा पठाइरहेको बताउनुभयो ।

मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले मन्त्रालयले भूकम्पपीडितको राहतका लागि तत्काल खाद्य संस्थान, नेसनल ट्रेडिङ लिमिटेड र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन
(सार्क) खाद्यान्न भण्डारबाट चामल, दाललगायत खाद्य सामग्री प्राप्त भएको जानकारी दिनुभयो ।

भूकम्पपीडित करिब १४ लाखलाई तीन महिनाका लागि पुग्ने खाद्यान्नलगायत सामग्रीका लागि केन्द्रीय दैवी प्रकोप उद्धार कोषलाई पत्राचार गरिसकेको उहाँले बताउनुभयो । रासस