२९ आश्विन २०८३, बिहिबार

अनेसास न्यूह्यामसायर च्याप्टरले मनायो लक्ष्मीजयन्ती

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, १४ कात्तिक । अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) न्यूह्यामसायर च्याप्टरले शनिबार एक भव्य समारोहबीच ११४औँ लक्ष्मीजयन्ती र संस्थाको नवौं वार्षिक साधारण सभा आयोजना गरेको छ ।

नेपाली र अमेरिकन राष्ट्रियगानपश्चात सुरू भएको कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा, केन्द्रीय महासचिव विमला निरौला, साहित्यकार महेश्वर पन्त, कवि लालगोपाल सुवेदी, एनआरएनएन सीसीयूएसए महिला संयोजक सुन्दरी गुरूङ, प्रधान सम्पादक ईश्वरी भट्टले महाकवि देवकोटाको तस्वीरमा माल्यार्पण गरेका थिए ।

अनेसास न्यू ह्याम्पसायरले गरेको कामको प्रसंशा गर्दै केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति श्रध्दा सुमन व्यक्त गरे ।

त्यसैगरी केन्द्रीय महासचिव विमला निरौलाले बालबालिकालाई कार्यक्रमहरूमा सहभागी गराइएकोमा च्याप्टरलाई धन्यवाद ज्ञापन गरे भने प्रधान सम्पादक ईश्वरी भट्टले आगामी कार्यक्रमका रूपरेखा प्रस्तुत गर्दै अनेसास न्यू ह्यामसायरले गरेका कामको चर्चा गरे । कार्यक्रममा महासचिव राधा थापाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुवास श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साहित्यकार महेश्वर पन्तलाई ‘मुक्तिनारायण÷मनमाया श्रेष्ठ स्मृति’ पुरस्कार प्रदान गरिएको थियो भने अनेसास बालतारा पुरस्कार स्तुति खतिवडालाई केन्द्रको तर्फबाट प्रदान गरिएको थियो ।

च्याप्टरको स्थापना कालदेखिनै सहभागिता र सल्लाहदिँदै आएका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजालाई प्रधान सम्पादक ईश्वरी भट्टले मायाको चिनो प्रदान गरेको कार्यक्रममा न्यू ह्याम्पसायरका विभिन्न संघ संस्थाका अध्यक्ष एवं पदाधिकारीहरूको उपस्थिति थियो ।

कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै देउसी भैलो पनि खेलिएको थियो । जसबाट संस्थाले राम्रै अर्थोपार्जन गरेको थियो । कार्यक्रममा आन्या बैध्यको नाच, श्रीला कडरिया र रश्मी अधिकारीको अनेसास गीत, हरिमाया अधिकारी, सागर खतिवडा, पविता परियार, सुशील गौतमको गायन र प्रमोद उपाध्यायको वाद्यवादन, शारदा भट्ट, सुन्दरी गुरूङ र साथीहरूको नाचले निक्कै रोचक बनाएको थियो ।

अनेसास न्यूह्यामसायर च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई संस्थाका महासचिव राधा थापा र सचिव नन्द शर्माले संचालन गरेका थिए । -ईश्वरी भट्ट