
बागलुङ, २७ वैशाख । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ खण्डको नरेठाँटीमा अलपत्र बनेको पुलको काम सुरु हुने भएको छ ।
तीन वर्षदेखि रोकिएको पुल निर्माणको काम नयाँ ठेक्का सम्झौतापछि अघि बढ्ने भएको हो । गौँदी खोलामा पुल बनाउने जिम्मा लिएका ठेकेदारको लापर्बाहीले पुल निर्माण कार्य अलपत्र थियो । विसं २०६९ मा पुल निर्माणको जिम्मा लिएर काम सुरु गरेका लोकप्रिय निर्माण सेवाका ठेकेदार सुनिल कार्की काम पूरा नगरी सम्पर्कविहीन बनेपछि पुलको काम अवरुद्ध थियो ।
कार्कीले विसं २०७० को असारभित्रै निर्माण सक्नेगरी जिम्मा लिए पनि जगमात्रै उठाएर फरार बनेका थिए । पुल निर्माणको बाँकी काम सक्न उदयपुरको रौताहा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसेकेको लोकमार्गको पश्चिम खण्डले जनाएको छ ।
आगामी असोजभित्रै काम सक्ने गरी रु एक करोड १० लाखमा ठेक्का सम्झौता भएको हो । उक्त कम्पनीका सञ्चालक भीमबहादुर थापाले निर्माणको काम छिट्टै सुरु हुने बताउनुभयो । पुलको बीच भागमा राखिने ‘बेरिङ’ भारतबाट ल्याउन लागिएको छ ।
“वर्षा र बाढीले अवरोध नगरे निर्धारित समयमै निर्माणको काम पूरा गर्छौं”, थापाले भन्नुभयो ।
निर्माण सामग्री जुटाउन प्राविधिक र कामदार निर्माणस्थलमा आइसकेको उहाँले बताउनुभयो । पुल बन्न नसक्दा वर्षायाममा लोकमार्ग अवरुद्ध हुँदै आएको छ । खोलाको दुवै किनारामा राखिएका जग समेत जीर्ण अवस्थामा छन् । निर्माणका लागि ल्याइएका रडलगायतका सामग्री हराएका छन् । वर्षायाममा उक्त पुल नबनेसम्म यातायात चल्न सक्ने अवस्था छैन ।
मध्यपहाडीको बागलुङ खण्डमा अहिले १३ वटा पक्की पुल निर्माणाधीन अवस्थामा रहेको लोकमार्गले जनाएको छ । दुईवटा पुल सम्पन्न हुने चरणमा छन् भने बाँकी छिट्टै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । रासस















प्रतिक्रिया