१५ कार्तिक २०८३, आइतबार

संसदमा सभाषद्हरुले भने-‘भूकम्प पीडितलाई एक रुपैयाँ पनि दिनुहुँदैन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sansad-1काठमाडौँ, २७ वैशाख । व्यवस्थापिका-संसद्को आजको बैठकमा विभिन्न दल सम्बद्ध सांसदहरुले शनिबार प्रस्तुत गरिएको सङ्कल्प प्रस्तावमाथि आआफ्नो धारणा राख्नुभयो । संसदमा धारणा राख्दै सभाषद्हरुले भूकम्प पीडितको राहत पुनर्स्थापनामा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

बैठकको सुरुमा नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले तत्काल राहत, सुरक्षित आवास र पुनःनिर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन आग्रह गर्नुभयो । भूकम्प प्रभावित क्षेत्रमा जनधनको व्यापक क्षति पुगेको भए पनि हालसम्म पीडित परिवारले अत्यावश्कीय सहयोग नपाएका, प्रभावशाली व्यक्तिले मात्रै राहत सामग्री पाएको र चौपायाको क्षति भए पनि त्यसको व्यवस्थापन हुन नसकेकामा आपत्ति जनाउनुभयो ।

उहाँले हरेक घरलाई तत्काल दुई बन्डल जस्तापाता उपलब्ध गराउन माग गर्दै सामान्य पालले वर्षालाई धान्न नसक्ने र वर्षायाममा भूकम्पपीडित थप समस्यामा पर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो-‘भूकम्प पीडितलाई बस्ने घर बनाईदिनुपर्छ, खान अन्नपानी दिनुपर्छ । तर नगद एक रुपैयाँ पनि दिनुहुँदैन् ।’ उहाँले भूकम्प पीडितलाई चाहिने आवश्यक सबै सामग्री सरकारले उपलब्ध गराउनुपर्छ भन्नुभयो ।

सांसद केसीले मानवीय पक्षलाई ख्याल गर्न आग्रह गर्दै तत्काल राष्ट्रिय सहमतिको सरकार गठनको माग गर्नुभयो । विकास बजेट खर्च नभएकाले सोही बजेटलाई भूकम्पपीडितलाई उपलब्ध गराउनुपर्ने उहाँको जोड थियो ।

नेकपा(एमाले)का अमृतकुमार बोहोराले राजनीतिक समन्वयको अभावमा भूकम्पपीडितले सहायता नपाएको भन्दै तत्काल उनीहरुका समस्या समाधान गर्न आग्रह गर्नुभयो । भूकम्पबाट बढी प्रभावित सिन्धुपाल्चोकको सुगम स्थानमा राहत सामग्री धेरै प्राप्त भए पनि दुर्गम स्थानमा पीडितले केही नपाएका गुनासो गर्दै प्रभावित स्थानमा तत्काल सहयोगको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

एकीकृत रुपमा सुरक्षित बस्ती विकास योजना बनाउनुपर्ने, स्थानीय जनतालाई स्वावलम्बी बनाएर स्थानीय साधन र स्रोतको व्यवस्था गरी भूकम्प प्रतिरोधी घर निर्माण गर्नेतर्फ प्रभावकारी कदम चाल्नुपर्ने उहाँको अभिमत थियो ।
एकीकृत नेकपा(माओवादी)का अग्निप्रसाद सापकोटाले गृहमन्त्रीले प्रस्तुत गर्नुभएको भूकम्प प्रभावितको तथ्याङ्क पूर्ण नभएको आरोप लगाउँदै तथ्यपरक सूचना प्रवाह गर्न आग्रह गर्नुभयो । गृहमन्त्रीले राहतका नाममा पैसा बाँडेको तथ्याङ्क गलत भएको भन्दै पीडितलाई पैसा नभइ आवश्यक राहत दिनुपर्छ भन्नुभयो ।

उहाँले मुलुकभित्र तीन लाख पाल उपलब्ध भएको बताइए पनि सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा हालसम्म करिब दुई हजार ७०० पाल प्रदान गरिएको बताउनुभयो । सामान्य त्रिपालले वर्षायाममा पानी छेक्न नसक्ने भन्दै उहाँले भूकम्पपीडित परिवारलाई स्थायी बसोबासको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद सापकोटाले भूकम्पबाट ज्यान गुमाएका परिवारलाई रु तीन लाख, घर भत्किएकालाई रु पाँच लाख र प्रभावित सबैलाई रु दश लाख उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राप्रपा नेपालका विक्रमबहादुर थापाले विपद्का बेला सबै राजनीतिक दल मिलेर जाने भन्ने सहमतिले जनतामा सकारात्मक सन्देश प्रवाह भएको र उत्साह बढेको बताउनुभयो ।

तराई–मधेस लोकतान्त्रिक पार्टीका जङ्गीलाल रायले भूकम्पपीडितलाई सहज रुपमा बसोबासको व्यवस्था गर्न जस्तापाताको व्यवस्था गर्न माग गर्दै उहाँले भूकम्प प्रभावित क्षेत्रका प्रत्येक गाविसमा एक/एक जना सांसद खटाउन आग्रह गर्नुभयो । पहाडमा दुःख पर्दा तराईका जनताले सहयोग गर्नुपर्नेमा जोडदिँदै उहाँले मानवीयताका आधारमा सहयोग गर्न कोही कसैले पनि हिचकिचाउन नहुने धारणा व्यक्त गर्नुभयो ।

राप्रपाका राज्यलक्ष्मी श्रेष्ठ(नुवाकोट)ले आफ्नो जिल्लाको अधिकांश क्षेत्र भूकम्पले तहसनहस भएको र त्यहाँका जनताले राहत सामग्री नपाएका गुनासो गर्नुभयो । उहाँले वर्षायाम अगावै बसोबासको व्यवस्था गर्न सरकारसँग माग पनि गर्नुभयो ।

सद्भावना पार्टीका नरसिंह चौधरीले प्राकृतिक विपत्तिसँग जुध्न स्पष्ट नीति तथा पूर्वतयारी आवश्यक रहेकामा जोड दिनुभयो । सङ्कल्प प्रस्तावमाथिको छलफल जारी छ । रासस