
काठमाडौं, ७ कात्तिक । संविधानसभाबाट संविधान निर्माणपछि भएका सबै निर्वाचनमा चर्चाको केन्द्रमा रहेको जिल्ला हो, चितवन । त्यसमा पनि चितवन ३ र त्यही भूगोलभित्र अटाएको भरतपुर महानगरपालिकाको चर्चा सधैं चरमचुलीमा रहँदै आएको छ । त्यसको एउटै कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल हुन् । यस क्षेत्रको चर्चा उनकै वरिपरि घुमेको छ । चितवन दाहालको गृहजिल्ला हो ।
पहिलो संविधानसभा सदस्य निर्वाचन २०६४ मा रोल्पा र काठमाडौं १० बाट जितेका दाहाल दोस्रो संविधानसभा निर्वाचन २०७० मा काठमाडौं १० र सिरहा ५ बाट लडेका थिए । त्यसबेला उनले काठमाडौं १० मा कांग्रेसका राजेन्द्रकुमार केसीसँग पराजित हुँदा सिरहाबाट जिते । तर उनको त्यो जितलाई ‘सन्देह’का रूपमा हेरिन्छ ।
यसरी गृह जिल्लाबाहिरको निर्वाचन ‘डरलाग्दो’ हुँदै गएपछि दाहालले २०७४ मा चितवन फर्कने मनशाय बनाए । चितवन पनि ‘सुरक्षित’ थिएन । जित सुनिश्चितताका लागि नेपाली कांग्रेस वा नेकपा एमालेसँगको तालमेल गर्ने जुक्ति उनले निकाले । जुन नेपाली राजनीतिमा खासै अभ्यास थिएन । २०७४ को स्थानीय निर्वाचनमा भने राप्रपा र एमालेले आंशिक स्थानमा तालमेल गरेका थिए ।
दाहालले पनि २०७४ को स्थानीय तह निर्वाचनमा गृहनगर भरतपुरमा कांग्रेससँग तालमेलको पहिलो अभ्यास गरे। मेयर पदमा छोरी रेनु दाहालका लागि ‘छापामार’ शैलीमा उनले कांग्रेसका उम्मेदवार दिनेश कोइरालाको उम्मेदवारी फिर्ता गराए। जसमा कांग्रेस सभापति शेरबहादुर देउवाको सहारा लिए। उपमेयरमा माओवादी केन्द्रले कांग्रेसलाई सघाउने भयो। रेनुलाई चुनाव जिताउन ठुलै तिकडमबाजी गर्नुपर्यो। दाहालको मिसन सफल भयो । रेनुले मेयर जितिन्।
भरतपुरमा सफल भए पनि देशभर कांग्रेससँगको तालमेल सफल नहुने र आफ्नो निर्वाचन क्षेत्र पनि असुरक्षित हुने देखेका दाहालले सोही वर्षको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेसँग देशव्यापी गठबन्धन गरे । त्यही गठबन्धनका बलमा उनी चितवन ३ मा आफैं उम्मेदवार भए। छोरी जिताउन कांग्रेसको साथ लिएका दाहालले आफू जित्न एमालेको साथ लिए ।
एमाले र माओवादी केन्द्रले गठबन्धन गरेपछि कांग्रेसले पनि राप्रपासँग गठबन्धन गरेर विक्रम पाण्डेका लागि चितवन ३ छाड्यो । यसरी गठबन्धनको रस्साकस्सीमा यो क्षेत्रका दुई बलिया शक्ति कांग्रेस र एमाले उम्मेदवारविहीन भए ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि यही क्षेत्रमा रहेको भरतपुर महानगरपालिका गठबन्धनकै कारण चर्चामा रह्यो । २०७४ को संसदीय चुनावपछि जुटेको एमाले–माओवादी केन्द्रबीचको गठबन्धन पार्टी एकीकरण पूरा नहुँदै विभाजन भयो । माओवादी केन्द्र फेरि कांग्रेससँगकै गठबन्धनमा आइपुग्यो ।
यही कारण दाहालले कांग्रेससँगकै गठबन्धनमा पुनः रेनुलाई मेयर बनाउन चाहे । चितवन कांग्रेसका नेता तथा कार्यकर्ताले पटक–पटक उनलाई भरतपुर छाड्न नसकिने अडान लिए । यसबाहेक आफ्नो सहयोगमा जितेकी रेनुले कांग्रेसका विपक्षमा काम गरेको, अघिल्लो संसदीय निर्वाचनमा कांग्रेस उम्मेदवार हराउन लागेको आरोप लगाइरहे । अन्ततः केन्द्रको सहमतिले रेनुले मेयरको टिकट पाइन् । चितवन कांग्रेसका पुराना नेताहरू विद्रोहमा उत्रिए । नयाँ नेताहरू बाध्य भएर रेनुलाई जिताउन लागे ।
रेनुले पुनः दोस्रो पटक जितिन् । एमालेले पनि राप्रपासँग गठबन्धन गरेको थियो । यसैकारण भरतपुर महानगरपालिका गठबन्धनकै कारण चर्चामा रह्यो । जसको केन्द्रमा दाहाल र उनको परिवार नै रह्यो ।
यति हुँदा पनि दलीय ‘भोट शक्ति’ मा कांग्रेस, एमाले कमजोर भएनन् । माओवादी केन्द्रको शक्ति दाहाललाई एकल जिताउन सक्नेगरी बढ्दै बढेन । जसले गर्दा मंसिरमा हुने प्रतिनिनिधसभा सदस्य निर्वाचनमा पनि दाहालका लागि चितवन ३ सुरक्षित देखिएन । यो निर्वाचन क्षेत्रबाट चुनाव लड्दा अर्को दलको भर पर्नैपर्ने दाहालको बाध्यता कायम नै रह्यो ।
यसरी अर्को दलको भर पर्दा जतिबेला पनि चुनाव हार्नसक्ने भयले दाहाललाई अहिले यो क्षेत्र छाड्न बाध्य बनाएको हो । उमेर र पार्टीको क्षयीकरण हुँदै गएको शक्तिका कारण यो चुनाव पनि उनलाई हार्न छुट छैन । यसकारण दाहाल मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गृह क्षेत्र छाडेर सुरक्षित स्थान खोज्दै गोरखा २ पुगेका छन् । यसरी पछिल्लो पाँच वर्ष चर्चाका कारण ‘दाहालमय’ भएको क्षेत्रमा दाहाल अहिले उम्मेदवार छैनन् ।
दाहाल गए, ‘नाटक’ गएन
चितवन ३ मा दाहाल प्रवेश गर्दा भएका नाटकीय राजनीतिक शृंखलाहरू दाहालले छाड्दा पनि सकिएका छैनन् । जसले अहिले पनि यो क्षेत्रलाई चर्चाको केन्द्रमै राखेको छ । दाहालले छाड्दा पनि सत्ता गठबन्धनको भागबण्डामा माओवादी केन्द्रले यो क्षेत्र छाड्न मानेन । कांग्रेसले निकै बल गर्दा पनि माओवादीले लिइछाड्यो । यो क्षेत्रमा माओवादीले राजनीतिभन्दा बाहिर रहेका व्यक्तिलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रका तर्फबाट फिजिसियन डा. भोजराज अधिकारी उम्मेदवार बनेका छन् ।
दाहालले छाड्दा पनि यो सिट कांग्रेसले नपाएपछि स्थानीय नेता तथा कार्यकर्ता भड्किएका छन् । यही कारण कांग्रेसबाटै आधा दर्जन ‘बागी’ उम्मेदवार छन् । उनीहरूबीच एकअर्कालाई समर्थन गर्ने क्रम चलिरहेको छ । कांग्रेसबाट बागी उठेकामध्ये सबैभन्दा बलिया २०७४ को स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा दाहालपुत्री रेनुलाई मेयरमा सघाउन देउवाको पत्रले उम्मेदवारी खोसिएका दिनेश कोइराला देखिन्छन् । २०७४ मा मेयरको उम्मेदवारी खोसिएपछि सोही वर्षको मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा चितवन ३(क) बाट प्रत्यक्ष उम्मेदवार बनेका थिए कोइराला । उतिबेला माओवादी केन्द्रले एमालेलाई सघाएकै कारण उनी पराजित भए ।
यसबाहेक गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा रेनुविरुद्ध कांग्रेसबाटै बागी उठेका पूर्वसांसद जगन्नाथ पौडेल फेरि अहिले बागी उठेका छन् । उनले त्यतिबेला १४ हजार ७ सय २८ मत बटुलेका थिए । यस क्षेत्रमा भइरहेका गतिविधि विपक्षी गठबन्धनबाट पनि उत्तिकै रोचक छन् । सुरुमा एमालेले यहाँ राप्रपाका उपाध्यक्ष पूर्वमन्त्री विक्रम पाण्डेलाई सघाउने चर्चा थियो । तर उम्मेदवारी दर्ताको अन्तिम समयमा एमालेले आफ्नै जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनायो । त्यसपछि पाण्डे राप्रपाको एकल शक्तिका बलमा चुनाव लड्ने भएका छन्।
उम्मेदवारी फिर्ताको समयमा एमालेले थप अर्को ‘ट्विस्ट’ आउने निर्णय गर्यो । जसले यसक्षेत्रको राजनीतिलाई झन् तरंगित पार्यो । उसले आफ्ना उम्मेदवार न्यौपानेको उम्मेदवारी फिर्ता लियो । तर राप्रपा उम्मेदवार पाण्डेलाई समर्थन गरेन । उसले सबैलाई चकित पार्नेगरी कांग्रेसका बागी केन्द्रीय सदस्य कोइरालालाई समर्थन गरिदियो । यसले यो क्षेत्रको चुनाव झन् नाटकीय मोडमा पुगेको छ । आजको नागरिक दैनिकमा खबर छ ।













प्रतिक्रिया