
काठमाडौं, ६ कात्तिक । ग्लोबल आईएमई बैंकले आफ्ना शेयरधनीका लागि १३.६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०७८÷७९ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । जस अनुसार बोनश शेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत (करसहित) वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति भएपछि मात्रै शेयरधनीले पाउने छन् ।
बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैँयाको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैँया बराबरको बोनश शेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैँया बराबरको नगद लाभांश शेयरधनीहरुलाई वितरण गर्ने भएको छ ।
ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०७८÷७९ मा ४ अर्ब ९६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । ३ प्रतिशत बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।
कूल २८९ अर्ब निक्षेप तथा रु. २७४ अर्ब कर्जा लगानी रहेको बैंकको मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले वटा २९० शाखा, २७३ वटा एटीएम, २७५ वटा शाखारहित बैंकिङ्ग सेवा, ५१ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।















प्रतिक्रिया