२९ आश्विन २०८३, बिहिबार

पाकिस्तानी र चिनियाँलाई सीमामै रोक्न भारतको दबाब

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । नेपाल-भारत सीमा क्षेत्रबाट पाकिस्तानी र चिनियाँ नागरिक भारत प्रवेश गरेको भन्दै रोक लगाउन भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालसँग आग्रह गरेको छ। पाँच दिने नेपाल भ्रमणमा रहेका एसएसबीका महानिर्देशक सुजोयलाल थाउसेनले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालसँगको औपचारिक भेटमा यस्तो आग्रह गरेका हुन् । ‘पाकिस्तान र चीनका नागरिक नेपाल–भारत सीमा क्षेत्रमा अवैध गतिविधि गरी भारततर्फ पस्ने गरेका छन्। उनीहरूलाई भारत छिर्न नदिन सशस्त्र प्रहरी बलको भूमिका हुनुपर्छ,’ एसएसबीका महानिर्देशक थाउसेनलाई उद्धृत गर्दै भेटमा सहभागी सशस्त्र प्रहरी बलका एक उच्च अधिकारीले नागरिकसँग भने ।

नेपाल–भारत सीमा सुरक्षा, व्यवस्थापन र समन्वय बैठकमा पनि एसएसबीका महानिर्देशक थाउसेनले नेपालले तेस्रो मुलुकका नागरिकलाई भारत प्रवेश र उनीहरूका अवैध गतिविधिमा रोक लगाउनुपर्ने प्रस्ताव गरेका थिए । जवाफमा सशस्त्र प्रहरी बलका महानिरीक्षक अर्यालले नेपाली भूमिबाट भारतविरोधी गतिविधि नभएको र तेस्रो मुलुकका मानिस भारततर्फ पनि नपसेको बताएका थिए । ‘तर भारतीय पक्ष नेपालको भनाइमा सहमत भएको देखिएन, तेस्रो मुलुकका नागरिक नेपालबाट भारततर्फ पसेको देखिएकाले जसरी पनि रोक्नुपर्‍यो भन्ने आग्रह भयो’, सशस्त्र प्रहरी बलका ती अधिकारीले भने ।

सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले दुई देशबीचको नियमित बैठक भएको बताए । उनले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दुई देशका प्रहरी अधिकारीले समन्वय गर्ने विषयमा बैठकमा छलफल भएको बताए। ‘सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि निस्तेज पार्ने विषयमा छलफल भएको हो, त्योभन्दा माथि हामीलाई बोल्न अधिकार छैन । गृह वा परराष्ट्र मन्त्रालयले बोल्नेछ’, प्रवक्ता थापाले भने। नियमित बैठक भएकाले अरू धेरै विषय बाहिर ल्याउनु जरुरी नभएको उनले बताए ।

बैठकमा सहभागी एक डिआइजीका अनुसार चीन र पाकिस्तानका नागरिक नेपाल–भारत खुला सिमानाको उपयोग गर्दै अवैध गतिविधि गर्ने मनशायले भारत प्रवेश गरेको गुनासो भारतीय पक्षको थियो। ‘भारतीय सुरक्षा बलको सरोकार नै यसपटक तेस्रो मुलुकका नागरिक नेपाली भूमि भएर भारत पसेको भन्ने थियो । खासगरी पाकिस्तानी र चिनियाँहरू नेपालको भूमि भएर भारत पसेकाले त्यसमा रोक लगाउनुपर्ने भन्ने भारतीय अधिकारीको भनाइ हो । उनीहरूले यसअघि पनि हलुका ढंगले यो कुरा उठाउने गरेका थिए’, ती डिआइजीले भने । ती डिआइजीका अनुसार सशस्त्र प्रहरी बलका महानिरीक्षक अर्यालले अहिलेसम्म शंकास्पद गतिविधिमा संलग्न रहेका तेस्रो मुलुकका नागरिक नेपालबाट भारततर्फ नछिरेको बरु भारतमै अपराध गरेर नेपाल आएको गुनासो धेरै छ भनेका थिए ।

‘भारतका सुरक्षाकर्मीले केही महिनाअघि भिट्टामोड क्षेत्रबाट प्रवेश गरेका एक पाकिस्तानीलाई पक्राउ गरेका रहेछन् । बैठकमा भारतीय पक्षले यसैलाई उदाहरणका रूपमा प्रस्तुत गरेको थियो’, बैठक सम्बद्ध स्रोतले भन्यो । आजको नागरिक दैनिकमा खबर छ ।