२९ आश्विन २०८३, बिहिबार

उम्मेदवारी दर्तासँगै सम्पत्ति विवरण बुझाउनुपर्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागु गर्ने भएको छ । आयोगको मंगलबार बसेको बैठकले बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

‘आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागु हुन्छ,’ उनले भने, ‘आचारसंहिता पालनामा सबैको सहयोगको अपेक्षा गरेका छौं ।’ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलसहित १३ राजनीतिक दलका प्रतिनिधिले आइतबार आयोगमा उपस्थित भई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।

आचारसंहितामा संघीय सरकारका प्रधानमन्त्री, मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री तथा स्थानीय तहका कार्यपालिका सदस्य निर्वाचन प्रचारप्रसार गर्न आफ्नोबाहेक अन्य क्षेत्रमा जान नपाउने व्यवस्था गरिएको छ । निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारले उम्मेदवारी दिँदा सिलबन्दी गरी सम्पत्ति विवरण पेस गर्नुपर्नेदेखि आफूले खर्च गर्ने अनुमानित रकम खुलाउनुपर्ने र बैंक वा वित्तीय संस्थामा खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था आचारसंहितामा उल्लेख छ ।

आचारसंहिताअनुसार उम्मेदवारले २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंकमार्फत कारोबार गर्नुपर्नेछ । आचारसंहिता संघीय सरकार, संघीय सरकारका मन्त्री, प्रदेश सरकार, प्रदेश सरकारका मन्त्री, नेपाल सरकार वा प्रदेश सरकारका निकाय तथा पदाधिकारी, स्थानीय कार्यपालिका, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी, राजनीतिक दल तथा तिनका भ्रातृ संगठन, उम्मेदवार, सार्वजनिक पद धारण गरेका व्यक्ति, शिक्षक, विकास साझेदार र पर्यवेक्षकलगायतलाई लागु हुनेछ ।

आचारसंहितामा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्नअंकित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क र लकेटजस्ता सामग्रीको प्रयोग गर्न नहुने उल्लेख छ। निर्वाचन प्रचारसँग सम्बन्धित स्टिकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्रीवितरण गर्न वा प्रदर्शन गर्न आयोगले रोक लगाएको छ ।  आजको नागरिक दैनिकमा खबर छ ।