
काठमाडौं, ११ असोज । कांग्रेसभित्रको आन्तरिक झगडाले गठबन्धन दलहरूबीच सिट बाँडफाँटमा अन्योल उत्पन्न भएको छ । कांग्रेसभित्र सिट बाँडफाँटको संख्या थोरै भएको भन्दै संस्थापन पक्ष र इतरबीच आन्तरिक विवाद उत्पन्न भएका कारण त्यसको असर गठबन्धनमा परेको हो। गठबन्धनभित्रका दलहरूले पहिला कांग्रेसको घरझगडा मिलाएर मात्रै गठबन्धनको सिट टुंग्याउन आग्रह गरेका छन् ।
कांग्रेसभित्र आन्तरिक झगडा बढ्न थालेपछि गठबन्धन दलमध्ये नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले कांग्रेसकै आन्तरिक विवाद र झगडा मिलाउन आग्रह गरेको छ । त्यति मात्र होइन, सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले सिट बाँडफाँटमा कांग्रेस र माओवादी मात्रै हाबी भएर आफ्नै बिर्ताजस्तो गरेकोमा असन्तुष्टिसमेत व्यक्त गरेका छन्। ‘सिट बाँडफाँट गर्दा कांग्रेसले देश नै कांग्रेसको बिर्ता हो भन्नेजस्तो गरेको देखिन्छ,’ गठबन्धनको बैठकमा अध्यक्ष नेपालकोे असन्तुष्टि उद्धृत गर्दै स्रोतले भन्यो ।
थोरै मत अपुग भए पनि संसदीय निर्वाचनमा पराजित हुनुपर्छ भन्ने कुरालाई हेक्का राख्न आग्रह गर्दै नेपालले सिट बाँडफाँटमा आफ्नै बिर्ताजस्तो गरेकोमा असन्तुष्टि व्यक्त गरेका थिए। ‘माधव नेपालजीले बैठकमै सिट बाँडफाँट गर्दा सबै पक्षलाई ध्यान दिन आग्रह गर्नुभएको थियो। उहाँले सिट कसैको बिर्ता नभई गठबन्धनमा आबद्ध सबै पार्टीको आवश्यकता भएको बताउनुभयो,’ गठबन्धन बैठकमा सहभागी एक नेताले भने । उनका अनुसार सिट बाँडफाँटमा धेरै स्थानमा कांग्रेस–माओवादी हाबी भएको र माओवादीले नेकपा एसलाई छाड्नुपर्ने स्थानमा पनि जिद्दी गरेपछि नेपालले त्यस्तो धारणा राखेका हुन् ।
अध्यक्ष नेपालले पार्टीको एक कार्यक्रममा पनि यस्तो असन्तुष्टि व्यक्त गरेका थिए । ‘गठबन्धनका साथीहरूले सिट बाँडफाँट गर्दा आफ्नै बिर्ताजस्तो गरेका छन्। आफूहरू कहाँ थियौं भनेर पहिला हेक्का राख्नुपर्ने हुन्छ तर पनि गठबन्धन आवश्यकता हो भन्ने बुझ्नुपर्छ,’ उनले पार्टी कार्यकर्ताहरूसँग भनेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।













प्रतिक्रिया