नुवाकोट, २४ वैशाख । नेपाल स्काउटका प्रमुख स्काउट एवम् खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले नेपाल स्काउटको अन्तर्राष्ट्रिय तालिम केन्द्र तथा ज्याम्बोरिस्थल ककनीबाट भूकम्पपीडितलाई बिहीबार राहत वितरण गर्नुभएको छ ।
नेपाल स्काउटले विभिन्न, व्यक्ति र बङ्गलादेश स्काउटबाट सङ्कलन गरेको राहतमध्ये ५०० वटा त्रिपाल, ५०० बोरा चामल, १० बोरा दाललगायत खाद्यान्न वितरण गर्दै मन्त्री पौडेलले ककनीमा नेपाल स्काउटको तर्फबाट १० वटा अस्थायी घर बनाइदिने बचनबद्धता पनि व्यक्त गर्नुभयो ।
उहाँले शक्तिशाली भूकम्पमा परी मृतक, घाइते तथा बेपक्ता भएकाको उद्धार र खोजबिनको साथै घरवारविहीनका लागि राहत वितरण र स्वास्थ्य शिविर सञ्चालनमा दिनरात नभनी खटिएका स्काउटको प्रशंसा गर्नुभयो ।
नेपाल स्काउटका राष्ट्रिय सङ्गठन आयुक्त देवराज घिमिरेका अनुसार मन्त्री पौडेल बुधबार साँझ नै ककनी पुगी नुवाकोटका भूकम्पप्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै बिहीबार बिहानैदेखि स्थानीय काउले र ककनी गाविसका भूकम्पपीडितलाई राहत बाड्नु भएको हो ।
मन्त्री पौडेल बुधबार धादिङ जिल्ला स्काउटले आयोजना गरेको राहत वितरण कार्यक्रममा सहभागी भई बुधबार नै नुवाकोट पुग्नुभएको थियो । यसैगरी, नेपाल स्काउटलाई मलेसिया स्काउटका लिडरद्वय बिली टयान सुन ह्वाट तथा नार्मा नुर्दिनले व्यक्तिगत खर्चमा एकलाख रुपियाँ मुल्य बराबरको फोहर पानी प्रशोधन गर्ने २०० थान सामग्री प्रदान गरेका छन् ।
नेपाल स्काउटका राष्ट्रिय सङ्गठन आयुक्त घिमिरेलाई बिहीबार नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित कार्यक्रममा ती सामग्री हस्तान्तरण गरिएको थियो । स्काउट खटिएका भूकम्प प्रभावित क्षेत्रमा उपलब्ध फोहर पानीलाई तत्काल नै प्रशोधन गरी पिउनयोग्य बनाउन सो सामग्रीले सहयोगगर्ने विश्वास गरिएको छ । रासस
















प्रतिक्रिया