
काठमाडौं, ४ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य धीरजकुमार शाही र दैलेख जिल्लाका अध्यक्ष नवीनकुमार शाही आफ्ना दर्जनौं कार्यकर्तासहित नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
केन्द्रीय सदस्य शाही दैलेखका स्थायी बासिन्दा हुन् । पार्टी कार्यालय, च्यासल ललितपुरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेलले उनीहरूलाई खादा लगाई पार्टीमा स्वागत गरे ।
उनीहरूसँगै काठमाडौं, सिन्धुली, दाङ, डोटी, गुल्मी, कैलाली, बझाङ, कञ्चनपुर, बाँके र बर्दियाका राप्रपा नेपाल, नेपाली काँग्रेस र माओवादी केन्द्रका एकसयभन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
एमाले प्रवेश गर्नेहरूमा काठमाडौंबाट अम्बिका उप्रेती, अमिस उप्रेती, रेश्मा उप्रेती, सरोज उप्रेती, विकास उप्रेती, लोकनाथ मैनाली, बुद्धिनाथ उप्रेती, झरनादेवी कटुवाल, मञ्जु गौतम, सरीता खड्का, सीता लिम्बु र ज्योती उप्रेतीलगायत छन् ।
त्यसैगरी दैलेखबाट जानकी शाह, कल्पना शाही, दुधा शाही, सर्जन शाही, अन्जनाकुमारी शाहीलगायतले पनि एमाले प्रवेश गरेका छन् । कैलालीका प्रदीप शाही, रोशनी साउद, राधा धामी, कञ्चनपुरबाट रक्षा तोमली, बझाङबाट हरेन्द्र कार्की, सन्तोष राना लगायत छन् ।
यस्तै काभ्रेपलाञ्चोकका पासाङ तामाङ, राजेश तिवारी, गुल्मीका कल्पना सुनार, बाँकेका हिमाल कार्की, धादिङबाट केशव गुरूङ, दार्चुलाबाट दानसिं ठगुन्ना, रामेछापका राजु थापा, गोरखाबाट सन्दिप लोहनीलगायत एमालेमा प्रवेश गरेका छन् ।
सो अवसरमा महासचिव पोखरेलले यतिवेला देश मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा केन्द्रित रहेको र निर्वाचनमा देशभक्त, प्रगतिशील, देश र जनता हितको पक्षमा रहेको नेकपा एमाले र कुनै गन्तव्य नभएको, व्यक्तिगत स्वार्थमा लागेको गठबन्धनबीचको प्रतिस्पर्धा हुन गइरहेको चर्चा गर्दै देश बनाउने उद्देश्यका साथ अगाडि बढिरहेको एमालेमा समाहित भएकोमा नवप्रवेशीहरूलाई धन्यवाद ज्ञापन गरे ।
नवप्रवेशीहरूका तर्फबाट राप्रपा नेपालका केन्द्रीय सदस्य शाहीले भने, ‘एमालेका अध्यक्ष केपी शर्मा ओलीको देशभक्तिपूर्ण अडान, देशको विकास र जनताको हितका लागि जसरी दृढतापूर्वक लाग्नुभएको छ, त्यसबाट प्रभावित भएर एमालेमा प्रवेश गरेको हुँ ।’
उनले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टी प्रवेशको संयोजन नेकपा एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले गरेका थिए ।















प्रतिक्रिया