३ कार्तिक २०८३, मंगलबार

असोज ६ देखि ८ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न पाइने

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । निर्वाचन आयोगले आगामी बिहीबारदेखि शनिबारसम्म (असोज ६–८) पुनः मतदाता नामावली सङ्कलन गर्ने भएको छ ।

आयोगले उक्त तीन दिन अस्थायी मतदाता नामावली संकलन गर्ने जनाएको छ । एक तालिका प्रकाशन गर्दै आयोगले दिएको जानकारी अनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचन प्रयोजनका लागि अस्थायी मतदाता नामावली संकलन गर्न लागिएको हो ।

आयोगका अनुसार उक्त तीन दिनमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारीका अतिरिक्त व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदीले अस्थायी मतदाता बन्न पाउँछन् ।

यस्तै, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिइ सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिहरुलाई पनि अस्थायी मतदाता बनाउने आयोगको तयारी छ ।