२९ आश्विन २०८३, बिहिबार

अमेरिकी डिभी पर्नु हाम्रो भाग्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tirtha-Dixit

सामान्य पढे लेखेको र देश विदेशको बारेमा जानकारी राख्ने व्यक्तिलाई अमेरिकाको साधारण परिचय गराइ राख्नु पर्दैन । किनकी विश्वको शक्तिसम्पन्न नम्बर १ राष्ट्रको बारेमा जो कसैलाई पनि जिज्ञासा एबम् कौतुहलता तथा त्यसबारे जानकारी राख्ने चासो हुन्छ नै । नमरी स्वर्ग देखिन्न भनेझैँ आफैले प्रत्यक्ष नदेखि, नभोगी अप्रत्यक्ष हेरेको सुनेको भरमा मात्र कुनै कुराको बिष्ळेषण गर्नु गलत हुनसक्छ।

सर्बसाधारण नेपाली तथा विश्वका मान्छेका लागि सपनाको देश भनिने अमेरिका आउनु त्यति सजिलो छैन । धेरै मान्छे अमेरिका आउन लालायित हुन्छन। मुख्य कुरो त भिसाको हो। त्यो के कसरी पाइन्छ भन्ने बारेमा अमेरिकाको आफ्नै आप्रवासी कानुन छ । एक साधारण नेपालीको लागि सबभन्दा उत्तम उपाय भनेको अमेरिकाले बर्षेनी खोल्ने डिभी चिट्टा (अमेरिकाले बर्सेनी ५०,००० जना मान्छे बिश्वका विभिन्न मुलुकहरुबाट आफ्नो देश भित्र्याउने गर्छ) र त्यसमा जोडिएको तपार्इंको भाग्य हो।

सबैमान्छे भाग्यमानी हुँदैनन् र सबै अभागी पनि । अमेरिका आउनु मात्र पनि सबै कुरा होइन तर आउन पाउनु ठूलै कुरा चाँहि हो । त्यसमा पनि आप्रवासी भिसा परिवारसहित आउन पाउनु भनेको सुनमा सुगन्ध नै हुने भयो । यसै प्रसंगमा गत साल (अप्रिल २०१४) मा मलाई अमेरिका आउने मौका मिलेको थियो डिभीमार्फत । एक अर्थमा आफैलाई भाग्यमानी सम्झें भने अर्को अर्थमा आफूलाई अभागी पनि । किनकी आफ्नो जन्मभूमि, आफन्त तथा आफ्नो नेपालको करिअर दाउमा लगाएर अमेरिका रोज्दै थिएँ। भबिष्य थाहा थिएन । साथमा थिए, ४ वर्षको अबोध बालक र जीबनसंगिनी । जब त्रिभुबन अन्तरास्ट्रिय विमानस्थलबाट जहाज चढ़ियो, उनीहरु भने अधिकांश समय निदाउन थाल्थे । तर म भने समय, भुत र बर्तमानको बिश्लेषण गर्दै भबिष्यप्रति चिन्तित हुँदै निदाउनै सक्थिन ।

अमेरिकामा पहिलोपटक पाइला टेकेपछि सबै कुरा नौलो लाग्यो । भौतिक संरचनाले भरिपूर्ण । यस्तो लाग्ने अब यहाभन्दा बिकास गर्ने ठाउँ छैन । अग्ला घर, फराकिला बाटा, मोटर गाडीका ताँती, मान्छेहरु सडकमा कमै देखिने, एकै रफ्तारले जहाजहरु उड्ने, गाडीहरु गुड्ने, कसैलाई कसैसँग बोल्ने फुर्सदसम्म छैन जस्तो ।

मेरो पहिलो प्रभाब त यहाँको गास, बास र कपास जस्ता मान्छेको आधारभूत आबश्यकताको व्यवस्थामा पर्यो । किनकी यहाँ बस्ने प्रायः सबैको जीवनस्तर एकै प्रकारको हुने, यस अर्थमा अमेरिकामा बसोबास गर्ने मानिसहरु को धनी को गरिब छुट्टाउन मुस्किल पर्ने । किनकी सबैले खाने चीज समान हुन्छ । सबैले बस्ने ठाउँ समान, उपभोग गर्ने चीज समान, मात्र फरक कमाई धेरै र थोरैको । त्यो त तपाईँको ल्याकत, क्षमतामा भरपर्ने कुरा भयो । गर्न सक्नेका लागि अवसरको खानी नै भन्नु पर्छ । नेपालमा जस्तो हुनेले मात्र राम्रो खाने, नहुनेले नखाने भन्ने नहुने ।

बस्नको लागि अपार्टमेन्ट वा घर जुनसुकै ठाउँमा पनि गच्छे अनुसार बस्न सकिने । कुनै पनि घरभित्र एउटा मान्छेलाई आवश्यक पर्ने आधारभूत कुराहरु सबै ठाउँमा समान रुपले उपलब्ध हुने, जस्तैः २४ सै घण्टा बिद्युत सेवा, चिसो तातो पानी, चिसो तातो बनाउने एअर कन्डिसन, रेफ्रिजेरेटर, लुगा धुने मेसिन, माइक्रो वेब, ग्यास, इन्टरनेट तथा हुलाक सेवा इत्यादी ।

साधारण काम गरेर पनि उच्चस्तरको जीवन जिउन सकिने यहाँको बिशेषता हो । अमेरिकामा जुनसुकै कुरा पनि अफोर्ड गर्न सकिने रहेछ । चाहे त्यो तत्काल आफ्नो औकातले नभ्याउने नै किन नहोस । सुबिधा तत्काल लिने या दिने पैसा भनेको बिस्तारै इन्स्टलमेन्टमा तिर्दै जाने यहाँको चलन नै हो । उदाहरणको लागि मैले नेपालमा अफोर्ड गर्न नसक्ने आइफोन, कार सुबिधा सम्पन्न अपार्टमेन्ट जस्ता कुराहरु अमेरिका आएको केहि समयमा नै लिएँ । जुन यहाँको लागि आधारभूत आबश्यकता हो । न कि नेपालमा जस्तो हुनेखानेले मात्र लिने । अनि मान्छे बिरामी भो भने पहिले प्राथमिकता तत्काल उपचार अनि मात्र पैसाको कुरा गरिन्छ यदि तिर्न नसक्ने औषद भन्दा कम कमाउने रहेछ भने सम्पूर्ण उपचार निशुल्क गरिन्छ ।

जता हेर्यो तेतै सफा सुघ्घर, सार्बजनिक ठाउँ तथा बाटोहरुमा ट्र्यास क्यान राखिएका । त्यति ठूलो देश, त्यति धेरै मान्छे, त्यति धेरै गाडी, त्यति धेरै घरहरु कसरी सम्भब भएको होला ? त्यसो त मान्छेहरु चुरोट पिउँछन, रक्सी पिउँछन, चाउचाउ, चकलेट यावत कुराहरु खान्छन तर पनि त्यसबाट निस्कने फोहोर तोकिएको ठाउँमा मात्र फाल्छन, फोहोर हुनै पाउँदैन । यदि कसैले फोहोर गरिहाले पनि सफा गरिन्छ । भौतिक रुपमा सरसर्ती हेर्दा अमेरिका एउटा सफा ठूलो पार्क नै पार्कको देश जस्तो लाग्छ । फोहोर कहिँ देख्नु पर्दैन यहाँ आची भनेको आफ्नो बाहेक अरुको देख्नु पर्दैन । नेपालमा कसैले कसैलाई नटेर्ने, पालो मिच्न पछि नपर्ने, थिचोमिचो गर्ने गराउने, अन्याय गर्ने गराउने, सानोठूलोको भेदभाव राक्ने, नियम कानुन नमान्ने तथा मान्न हिच्किचाउने, परे कानुन हातमा लिनेसम्मको काम गर्न पछि नपर्ने हामी नेपालीको बानी यहाँ आएपछि एकाएक सुध्रिन्छ, सुध्रिन कर लाग्छ ।

अमेरिका समय तथा सिस्टममा चल्ने देश भनेर बिश्वमै चिनिन्छ । आकाशमा जहाज ठीक समयमा उड्ने, जमीनमा गाडी ठीक समयमा गुड्ने, ट्राफिक लाइट देशैभरि । प्रत्येक चोक, कुना कुनामा राखिएको र ठीक तरिकाले काम गर्ने, कसैले मात्र ट्राफिक कानुनको उल्लंघन गर्यो, नियमबिरुद्ध मादक पदार्थ पियर गाडी चलायो भने आकाशबाट देउता आएजस्तो पुलिसले पिछा गरेर पक्रिहाल्छ । अनि कसुर अनुसारको कडा सजाय दिइहाल्छ । जतासुकै पनि लुकेर तथा छिपेर बस्न सक्ने ट्राफिक पुलिसहरु कहाँ हुन्छन्, कसैले ठम्याउन सक्दैन । कहीँ कतै कसैले कसैलाई ढाटौँला, ठगौला भन्नु पर्दैन । नियम कानुन भनेपछि सबै डराउने, सबैले मान्ने, पालना गर्ने, महिला, केटाकेटी, बुढाबुढीहरुलाई माया गर्ने, सदभाव देखाउने तथा अपाङ्ग व्यक्तिलाई प्रत्येक ठाउमा अपाङ्गमैत्री वातावरणको ब्यबस्था समेत गरिएको हुन्छ । यी यावत कुराहरु के कसरी चल्छ र सम्भव हुन्छ होला ? एउटै उत्तर हुनसक्छ, कानुन तथा सिस्टममा चल्ने अमेरिका । एउटा महत्वपूर्ण कुरा सामाजिक सभ्यताको देखिन्छ । कहिल्यै नदेखेको नचिनेको व्यक्तिसँग पनि बाटो वा कहीँ कतै जम्काभेट हुँदा हाई हेल्लो भन्ने तथा मुसुक्क मुस्कुराउने यहाँको प्रथा सारै राम्रो । एकले अर्कालाई कहिल्यै हेयको भावले नहेर्ने, रङ्गभेद बिरोधी नीति, एकअर्कामा सहयोग गर्न सधै तम्तयार रहने, भेदभाव नगर्ने यहाँको चलनले कस्लाई पो प्रभावित नगर्ला र ? कसले पो सिको गर्न नाखोज्ला र ? यी ससाना तर निकै महत्वपूर्ण कुराहरुलाई हामीले नेपालमा व्यवहारमा उतार्न सक्छौ । कतिपय कुराहरुलाई कानुन बनाएर, कानुनलाई समयसापेक्ष परिमार्जन गरेर तथा कतिलाई एक आपसमा ब्यबहारमा प्रयोग गरेर सिक्न सक्छौ ।

यहाँको अति महत्वपूर्ण अर्को कुरा श्रमको सम्मान हो । तपाईँ जे जस्तोसुकै काम गर्नुस्, तपार्इंलाई कसैले पनि यो राम्रो काम त्यो नराम्रो काम भनेर भन्ने हिम्मत गर्दैनन् । काम ठूलो वा सानो हुँदैन । सडक सफा गर्ने, होटेल रेस्टुरेन्टमा भाँडा सफा गर्नेदेखि ट्याक्सी, बस चलाउने ड्राइभर, मजदुर तथा उच्च ओहदामा काम गर्ने व्यक्ति सबैलाई समान ब्यबहार गरिन्छ । प्राय सबैलाई सर भनेर सम्बोधन गरिन्छ । सबैले सबैलाई आदरार्थी तथा मायाका भावले सम्बोधन गरिन्छ भने यति राम्रो कुरा हामीले किन नसिक्ने ?

अर्कोकुरा काममा काम, माममा माम भनेजस्तो छ । यहाँ ठीक समयमा काममा पुग्नु, तोकिएको समयमा तोकिएको काम गर्नु, समय (प्रति घण्टा) को आधारमा ज्याला दिनु यहाँको चलन हो । त्यसो त श्रम कानुन कडासँग लागू तथा पालना गरिएको हुन्छ । उदाहरणको लागि काम गर्ने स्थानमा उचित हावापानी तातो चिसो तथा स्वच्छ पिउने पानीको ब्यबस्था अनिवार्य हुन् । काममा ठग्ने, अनावश्यक कुरा गरेर समय कटाउने, कामको बेला व्यक्तिगत फोन, मोबाइल प्रयोग गर्ने जस्ता कुरा सोच्न सकिदैन यहाँ । यस्ता कुराहरु नेपालमा पनि लागू गर्न सके सरकारी तथा निजी कार्यालयहरुको कामको गुणस्तरमा कति प्रगति हुन्थ्यो होला ? यो सब थाहा पाएका देखेका नेताहरुले कहिले यसतर्फ सोच्ने विचार गर्ने होलान ?

अमेरिकामा पछिल्ला वर्षहरुमा धेरै नेपालीहरु आएका छन् विभिन्न माध्यमबाट । सुरुमा अमेरिका आउँदा नेपालीहरुले भाषा, संस्कृति, चालचलन, रहनसहन आदिको त जो कसैले पनि समस्या भोगेकै हुन्छन । यस्ता समस्याहरुलाई छिचोल्दै नेपालीहरुले प्रगति गरेकै छन् । कतिले आफ्नो ब्यबसाय गरेर धेरै कमाएका पनि छन्, कतिले थोरै, जति थोरै भएपनि नेपालको तुलनामा १०० गुना धेरै । कति राम्रो स्थानमा काम गरेर ठूलो ओहोदामा पुगेका पनि छन् । धेरै नेपाली बिद्यार्थीहरु काम गर्दै पढेका छन् । सबैले आ आफ्नो ठाउँ बाट दुःख, सुख मेहनत तथा संघर्ष गर्दै प्रगति पथमा अगाडि बढिरहेका छन् । आफ्ना परिवारहरु तथा आफन्त घुमाउन ल्याएका छन् । संसार देखेका देखाएका छन् । आवतजावतको क्रम बढेको छ । जसले गर्दा यहाँको वातावरण, संस्कृति, चलन तथा राम्रा कुराहरुको सिको गर्ने मौका मिलेको छ । अमेरिकामा भएका सिकेका राम्रा कुराहरुलाई सानो सानो नै किन नहोस, माथि लेखमा बर्णन गरिएका अनुभव तथा बास्तविक कुराहरुलाई हामीले नेपालमा धेरथोर ब्यबहारमा उतार्न सक्यौ भने पनि नेपालप्रति केही योगदान हुन् सक्छ भन्ने लाग्छ ।

मान्छे आफैमा असन्तुष्टि प्राणी हो । उसले जहिले पनि आफ्नो प्रगति उन्नति गर्न चाहन्छ । राम्रो भाग्य तथा कर्म होस् भन्ने चाहना सदैव राखेकै हुन्छ । यही औसत मान्छे भित्रको म पनि नेपालबाट अमेरिका बसाईसराईको क्रममा संघर्षको क्रम जारी छ । आखिर जीवन नै संघर्ष हो भन्ने कुरामा त कसैको दुइमत नहोला ।