
काठमाडौं, ४ असोज । सामान्यतया बेलैमा उचित उपचार पाए डेंगी संक्रमितलाई सजिलै बचाउन सकिन्छ।
समयमै उपचार पाएको अवस्थामा अन्य दीर्घरोग लागेको भए पनि डेंगीका बिरामीले ज्यानै गुमाउनुपर्ने स्थिति भने आउँदैन। तर उपचारमा ढिलाइ गर्दा भने अरू कुनै रोग नलाग्दा पनि डेंगीका बिरामीको मृत्यु भएको पाइएको चिकित्सकहरूले बताएका छन्। डेंगी संक्रमणलाई सामान्य ठानेर लापरबाही गरे पनि बिरामीको ज्यान जान सक्ने चिकित्सकहरूले बताएका छन्। उनीहरूका अनुसार डेंगीको आशंका हुनेबित्तिकै चिकित्सकको सल्लाहसुझावअनुसार चल्नुपर्छ।
वीर अस्पतालमा बुधबार मृत्यु भएकी ४० वर्षीया महिलामा कुनै जटिल दीर्घरोग थिएन। तर ढिलो उपचारमा पुगेकाले उनको मृत्यु भएको वीर अस्पतालकी निमित्त निर्देशक डा. अनुपमा कार्कीले बताइन्। ‘समयमै आएर उपचार पाए डेंगीबाट जटिल दीर्घरोग नभएका व्यक्ति मरिहाल्ने स्थिति रहँदैन,’ उनले भनिन्।
बुधबार नै उक्त अस्पतालमा यो वर्ष डेंगी संक्रमण सुरु भएयता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि दुईजनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमध्ये एक संक्रमितमा अन्य रोग नभएका रहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए। मृत्यु हुनेमा २७ वर्षीय युवकमा डेंगीबाहेक अरु रोग थिएन। यो अस्पतालमा डेंगीबाट मृत्यु हुनेमा ३५ वर्षीय पुरुष पनि छन्। उनी भने पहिल्यै कलेजोका रोगी थिए। हालसम्म नेपालमा डेंगीका कारण २० जनाको मृत्यु भइसकेको छ। आजको नागरिक दैनिकमा खबर छ ।













प्रतिक्रिया