
तनहुँ, २ असोज । तनहुँको म्याग्दे गाँउपालिकाद्वारा आयोजित एकीकृत घुम्ति शिविरमा जनताको उल्लेख्य सहभागिता रहेको छ ।
शिविर आजदेखि शुरु गरिएको हो । पहिलो दिन म्याग्देको वडा नं १ को मान्ह्रौमा गरिएको शिविरमा जनताको व्यापक सहभागिता देखिएको छ । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले ओमबहादुर आलेको घरमा डिजिटल घर नम्वर टाँसेर उद्घाटन गरेका छन् ।
पालिकाले वडावासीको सहजतालाई मध्यनजर गरी गरिएको एकीकृत घुम्ति शिविरमा योजना सम्झौता, सुझाव तथा परामर्श, समान्य स्वास्थ्य परीक्षण, उपचार व्यवस्थापन, परामर्श तथा औषधि वितरण, क्षयरोग स्कृनिङ, सुगर परीक्षण, पोषण सेवा, भीआईए स्कृनिङ, प.नि. सेवा तथा परामर्श र कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरिएको छ ।
यसैगरी शिविरबाट व्यवसाय दर्ता, जन्मदर्ता, डिजिटल घर नम्वर प्लेट, ज्येष्ठ नागरिक कार्ड, उपभोक्ता समितिसँगको सम्झौता, महिलाहरुको पाठेघर जाँच, परिवार नियोजनसम्बन्धी जानकारी, रक्तचापको जाँच, कृषि वीउविजनका वितरण, पशुको गोवर परीक्षण, क्र्यास्टेशनलगायत सेवा दिइएको पालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।
म्याग्दे गाँउपालिकाले सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गरेर सेवा घरआँगनमा पुर्याउने उद्देश्यसहित एकीकृत घुम्ति शिविर शुरु गरेको हो । असोज २ गतेदेखि सञ्चालन हुने घुम्ति शिविर असोज ३१ गतेसम्म चल्ने गाँउपालिकाले जनाएको छ ।
















प्रतिक्रिया