
काठमाडौं, १ असोज । आसरा सुधार केन्द्र रानीबारीको २६औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौंको रानीबारीस्थित केन्द्रको कार्यालयमा आज शनिबार वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको हो । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा केन्द्रको नेतृत्वदायी भूमिकामा महत्वपूर्ण योगदान पुर्याइ केन्द्रलाई हालको अवस्थासम्म ल्याउन विशेष योगदान पुर्याउने पूर्व अध्यक्ष सिर्जना थापालाई सम्मानपत्र प्रदान गरिएको छ ।
साथै केन्द्रको कार्यकारिणी समितितर्फ केन्द्रकी सदस्य जुनु श्रेष्ठ र श्रीमती कुसुम अधिकारीलाई पनि प्रशंसापत्र प्रदान गरिएको केन्द्रले जनाएको छ ।

त्यस्तै प्रहरी महानिरीक्षक सिंहले केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज र केन्द्रले आयोजना गर्ने विविध साँगीतिक कार्यक्रममा सहयोग गर्ने नेपाल प्रहरी संगीत विद्यालय महाराजगञ्जलाई प्रशंसापत्र प्रदान गरे ।
उनले केन्द्रको आन्तरिक सुरक्षा एवम् व्यवस्थापनमा योगदान पुर्याउने प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्नाका साथै केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण २०७९’ को विमोचन समेत गरेका छन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले लागूऔषध दुर्व्यसनीको उपचार र पुनर्स्थापना तथा लागूऔषधविरूद्ध सचेतनामार्फत् सामाजिक सुधार र सामाजिक सेवामा नेपाल प्रहरी श्रीमती संघद्वारा सञ्चालित केन्द्रले स्थापनाकाल देखिनै निर्वाह गरेको भूमिका सराहनीय रहेको बताए ।
२०५४ सालमा स्थापना भई १०१ जना महिलासहित ५ हजार ६९८ जना लागूऔषध सेवनकर्तालाई परामर्श र उपचारद्वारा असल नागरिकमा रुपान्तरण गरी नयाँ जीवन दिन यस केन्द्रले तय गरेको सफल यात्राको निम्ति उनले समस्त केन्द्र परिवारलाई बधाई व्यक्त गरे ।
















प्रतिक्रिया