२९ आश्विन २०८३, बिहिबार

हात्तीको पनि गरिन्छ विधिपूर्वक न्वारन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

blog

काठमाडौं, असोज १ गते । धार्मिक परम्पराअनुसार होमादी पूजासँगै हात्तीको न्वारान गर्ने गरिएको समाचार सुन्दा अनौठो लाग्न सक्छ तर चितवनको सौराहास्थित हात्ती प्रजनन केन्द्र खोरसोरमा जन्मिएका हात्तीको न्वारान पञ्चायतकालदेखि नै गरिँदै आएको छ।

सुत्केरी आमा (ढोई) लाई नुहाइधुवाई सकेर तेल लगाई चिटिक्क पारी शृङ्गार गर्ने गरिन्छ। चरेसको थालमा एक माना चामल र एक सय रुपियाँ दक्षिणामाथि चाँदीको एउटा ढ्याक राख्ने गरिन्छ। पुरोहितले रातो चन्दनले पीपलको पातमा छावा वा छावीको नाम लेख्ने गर्छन्। पुरोहितले केन्द्रका प्रमुखलाई छावा वा छावीको नाम सोध्ने र प्रमुखले सुझाइएको नाम राख्ने चलन छ।

केन्द्रका प्रमुख मनपुरन चौधरीले गत साता एउटी छावीको नाम स्वर्णकली राखिएको बताउँदै भने, “मानिसको जस्तै धार्मिक विधिअनुसार न्वारान गर्ने परम्परा छ।” हात्तीको न्वारन १२ दिनमा हुने गरेको छ। मुलुकमा गणतन्त्र स्थापना हुनुपूर्वसम्म दरबारले नै हात्तीको नामकरण गर्ने गरेकोमा अचेल निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई सो जिम्मेवारी दिइएको छ।

“केन्द्रको प्रस्तावमा प्रमुख संरक्षण अधिकृतले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सहमतिमा नामकरण गर्ने चलन छ,” केन्द्र प्रमुख चौधरीले भने। लोकतन्त्रकलीको तेस्रो सन्तानका रूपमा स्वर्णकली भदौ १२ गते जन्मिएकी हो। निकुञ्जका पशु चिकित्सक डा। विजय श्रेष्ठले निकुञ्जको स्वर्ण महोत्सवका अवसरमा जन्मिएकाले यसको नाम स्वर्णकली राखिएको बताए। २०६३ साल जेठ ११ गते खोरसोरमा जन्मिएकी लोकतन्त्रकलीको नाम सो वर्ष लोकतन्त्र स्थापना भएकाले त्यसरी नामकरण गरिएको थियो। आजको गोरखापत्र दैनिकमा खबर छ ।