३ कार्तिक २०८३, मंगलबार

महिला फुटबल टोलीलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले दिए बधाई तथा शुभकामना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाली महिला फुटबल टोलीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

राजधानी काठमाडौंमा जारी ‘साफ वमन्स च्याम्पियनशीप २०२२’ अन्तर्गत आज भएको सेमिफाइनल खेलमा भारतलाई हराउँदै नेपाल फाइनल चरणमा प्रवेश गरेकोमा खुशी व्यक्त गर्दै उपाध्यक्ष पोखरेलले बधाई तथा उपाधिमाथिको जितका लागि शुभकामना व्यक्त गरेका हुन् ।

उनले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत नेपाली टोलीलाई शुभकामना व्यक्त गरेका हुन् । ‘स्याबास चेलीहरू ! महिला साफ च्याम्पियनशीपको आजको खेलमा ऐतिहासिक जित हासिल गर्दै फाइनलमा प्रवेश गरेकोमा नेपाली महिला फुटबल टोलीलाई हार्दिक बधाई तथा आगामी जितका लागि शुभकामना !’ पोखरेलले लेखेका छन् ।

साफ च्याम्पियनशीप फुटबलको १२ वर्षे इतिहासमा नेपाली राष्ट्रिय महिला टोलीले पहिलो पटक शुक्रबार भारतलाई पराजित गरेर फाइनलको यात्रा तय गरेको हो । त्यसकारण आजको जित ऐतिहासिक हो ।

सन् २०१० मा बङ्गलादेशबाट सुरुवात भएको महिला साफ च्याम्पियनशीपमा नेपालले यसअघि भारतलाई हराउन सकेको थिएन । आजको जीतसँगै नेपाल साफ च्याम्पियनशीपको पाँचौँपटक फाइनलमा पुगेको छ ।

आज भएको खेलमा नेपालले भारतलाई १–० गोलअन्तरले पराजित गर्यो । नेपालको जीतमा निर्णायक गोल रश्मिकुमारी घिसिङले गरिन् । उनले खेलको पहिलो हाफको इन्जुरी समयमा प्रिति राईको पासमा नेपालका लागि निर्णायक गोल गरेकी थिइन् ।