
म्याग्दी, ३० भदौ । जिल्लाको मालिका–५ देविस्थानस्थित श्री गौ बोमबस्त माध्यमिक विद्यालयमा विविध कार्यक्रम गरी ५८औं राष्ट्रिय बालदिवस मनाइएको छ ।
विद्यालयमा गठित प्रतिभा बाल क्लबले र्याली गर्दै गाँउ परिक्रमा गरी दिवस मनाएको हो । बाल अधिकारका सवालमा विभिन्न नाराहरु लेखिएका प्ले–कार्डसहित गाउँ परिक्रमा गरेर विद्यालय प्राङगणमा पुगेको र्याली सभामा परिणत भएको थियो ।
बाल क्लवका अध्यक्ष बिपाशा सिउथानीको अध्यक्षता तथा निवर्तमान वडा अध्यक्ष पिपला बुढाथोकीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमका सहभागीहरुले जिम्मेवार परिवार, उत्तरदायी समाजमा मात्रै बालबालिकाको विकास हुने बताए । उनीहरुले बालबालिकाको विकास भए मात्रै समाज समुन्नत हुने बताएका थिए ।

कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको क्लबकी सचिव बिनिषा बुढाले जानकारी दिइन् ।
कार्यक्रममा अभिभावक, विद्यार्थी र शिक्षकबीच ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी समाज’ विषयक वृहत् अन्तरक्रिया गरिएको थियो । कार्यक्रमको सहजीकरण सामाजिक शिक्षक तथा पत्रकार प्रकाश अधिकारीले गरेका थिए ।
बच्चाको शिक्षा भनेको अभिभावक र शिक्षकको सामुहिक प्रयत्न भएको भन्दै भविष्यको असल नागरिक निर्माण गर्नका निम्ति शिक्षक र अभिभावकबीच हातेमालो गर्न आवश्यक रहेको बक्ताहरुको भनाई थियो । बच्चालाई विद्यालय पठाएर मात्रै अभिभावकको जिम्मेवारी पूरा नहुने र आफ्ना बालबालिकाको सुन्दर भविष्य निर्माणका निम्ति अभिभावकले आफ्नो तर्फबाट पूर्ण प्रयत्न गर्नुपर्छ तथा बालबालिकालाई भविष्यमा के बनाउने भन्नेबारे शिक्षक र बालबालिकाबीच अभिभावकले सल्लाह र सुझाव लिनुपर्नेमा जोड दिइएको थियो ।

शिक्षक कविता शर्माले स्वागत गरेको कार्यक्रममा अभिभावक दुर्गा बुढा, विद्यार्थीहरु सुमिना घर्ती, विनिषा बुढाथोकी र शिक्षकहरु बुद्धि बहादुर राना, चेत बहादुर जिटी, सुनिता पाइजा, दीपक आचार्य, किरण थकाली, रस्मी पटेल र प्रेमकुमारी पुन लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रम सञ्चालन शिक्षक चेतबहादुर जिटीले गरेका थिए ।















प्रतिक्रिया